उत्तरी नाका खोल्न दुई सय मिटर बाँकी, जुनसुकै विकल्प अपनाएर पाँच दिनभित्र सुचारू

उत्तरी नाका सात दिनमै

काठमाण्डौ १४ असोज । सरकारले अविलम्ब कूटनीतिक  पहल थाले सातापछि नै उत्तरतिरको मुख्यउ नाका तातोपानी खुलाउन सम्भव देखिएको छ। भूकम्पले अवरूद्ध चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका खुलाउने काम अन्तिममा पुगेकाले तत्काल आपूर्ति सम्भव देखिएको खबर आजको नागरिकमा ध्रुब दंगालले लेखेका छन्।

वैशाख १२ को शक्तिशाली भूकम्प र लगातारको परकम्प अनि बर्खाको बाढी पहिरोले पाँच महिनादेखि यस नाका बन्द छ। राजमार्गले नाका छुट्टयाउने मितेरी पुल  जोड्न करिब २ सय मिटर मात्र बाँकी छ। लिपिङ बजारसम्म सडक अवरोध पन्छाउने काम सकिएको छ। पुलको सय मिटरवर सडकमै थुप्रिएका चट्टाने पहिरो हटाएपछि राजमार्गले नाका जोडिन्छ।

झन्डै १०० मिटर दूरीमा फेलिएर १५ मिटर उचाइ लिएर राजमार्गको छेउका घरभन्दा अग्ला भीमकाय चट्टानै चट्टान थुप्रिएको छ। पहिरो तत्काल पन्छाउन सडक डिभिजन कार्यालयले सम्पूर्ण संयन्त्र प्रयोग गरेको छ। पाँच दिन भित्र अवरोध हटाउन सडक र स्थानीय प्रसाशन सक्रिय छन्।‘जुनसुकै  विकल्प अपनाएर भए पनि पाँच दिनभित्र सडकको अवरोध हटाइसक्छौ,’ प्रमुख जिल्ल अधिकारी बलभद्र गिरीले भने।