नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली जनताको इच्छा र नेपालीको हित विपरित केही गर्ला भन्ने आफुलाई नलागेको जनाएका छन्। नयां संविधानपूर्वनै तराईका भूभागमा देखिएको तिक्तता संविधान घोषणापछि झन् चर्कने संकेतहरु देखिैदै गर्दा उनले त्यस्तो बताएका हुन्। छिमेकी भारतसमेत खुला रुपमा पछिल्लो आन्तरिक विवादमा मुछिएपछि तराई तनावले जटिल मोड लिनसक्ने चिन्ता सुनिन थालेको छ। संविधान घोषणा यात्राका महत्वपूर्ण राजनीतिक पात्रहरुमध्ये एक तथा भावी प्रधानमन्त्रीका प्रबल दावेदार ठानिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग गरेको कुराकानीको सम्पादित अंश:
दुई देशको सम्बन्धलाई कसरी भोलि गएर सघन ढंगले अगाडि बढाउन सक्छौं भन्ने कुराको हकमा र कुनै भ्रमपूर्ण ढंगले चल्न हुँदैन भन्ने कुराको हकमा यस्ता छलफलहरु हुन्छन्। कतिपय अवस्थामा अलिकति मन खोलेर गर्ने कुरा हुन्छ नि। त्यसका लागि पनि त्यस्तो वार्ता आवश्यक हुन्छ।
त्यो बेला भारतका यस्ता यस्ता चासोहरु छन्, त्यो चाहिँ सम्बोधन गर्ने अपेक्षा हामीलाई छ भनेर उनीबाट केही आएको थियो कि?
थिएन। यो संविधानमा भारत, चीन वा अन्य कुनै देशका विरुद्ध व्यवस्था छैन। भारत एउटा लोकतान्त्रिक देश हो। त्यसले लोकतान्त्रिक प्रक्रियाबाट आएको लोकतान्त्रिक संविधानलाई अस्वीकार गर्नै सक्दैन।
अब तपाईँले अस्वीकार गर्न त सक्दैन भन्नुभयो। तर उनीहरुको विदेश मन्त्रालयले निकालेको पछिल्लो वक्तव्य हेर्दाखेरी ‘संविधान निर्माण भएको हामीले जानकारीमा लिएका छौं’ भन्ने खालको चीसो प्रतिक्रिया छ। लगत्तै आएको अर्को वक्तव्यमा ‘हाम्रो सुझाव नमान्दा तराईमा तनाव आएको’ भन्नेसम्मको संकेत छ। यसबाट त भारत खुशी छैन भन्ने देखिन्छ। उसलाई आश्वस्त पार्ने कोसिस नेपाली राजनीतिक दलहरुले गर्छन् कि गर्दैनन्?
तपाईँले भनेको वक्तव्य चाहिँ भारत सरकारको वक्तव्य हो भन्ने कुरामा मलाई यकीन छैन। यो अनौपचारिक कागजपत्रको कुरा जस्तो लाग्छ मलाई र यसलाई कसैले बढाइचढाइ गर्न सक्छन्।
विदेश मन्त्रालयकै वेबसाईटमा विदेश मन्त्रालयकै नाममा वक्तव्य जारी हुन्छ भने त्यसलाई आधिकारिक नमाने केलाई मान्ने?
त्यस्तो छ भने त त्यो आधिकारिक नै होला। यदि त्यस्तो छ र त्यस प्रकारको भाषा परेको छ भने त्यो चाहिँ उपयुक्त होइन। तर मलाई लाग्छ त्यो कसैले असमझदारी सिर्जना गरिदिएर केही भएको हुनसक्छ अस्थायी रुपमा। त्यसमा धेरै जानु जरुरी छैन। हामीले पछाडितिर फर्केर भन्दा अगाडि बढेर, मिलेर विकासको पथमा अघि बढ्ने हो। भारत र चीन ठूला ठूला छिमेकी मित्र राष्ट्रहरु छन्। हाम्रो सामर्थ्य कम होला तर पनि हाम्रो सदासयता र सद्भाव हुन्छ र उहाँहरुलाई अप्ठ्यारो पर्ने कुनै काम हामीबाट हुँदैन।
संविधान बनिसकेपछि नयाँ सरकार गठनको विषय पनि निश्चित रुपमा अगाडि बढिहाल्छ। तपाईँहरुको पूर्व सहमतिमा पनि त्यो उल्लेख छ। नयाँ सरकार कहिलेसम्म बनिसक्ला?
असोज ३ गतेको १५ दिनभित्र त त्यो प्रक्रिया अगाडि जान्छ नै। लगभग तीन हप्ता असोज २४/२५ गतेसम्ममा सरकार बनिसक्नुपर्छ।
धेरैले तपाईँलाई भावी प्रधानमन्त्रीको प्रमुख दावेदारको रुपमा पनि हेर्छन्। १६ बुँदे सहमति हुँदा दलहरुबीच भद्र सहमति पनि त्यही भएको भन्ने छ। के तपाईँ नै प्रधानमन्त्री बन्ने निश्चित भयो अब?
मैले प्रधानमन्त्रीको दावी कहिल्यै गरिनँ। १६ बुँदे सहमतिका बेला चार दलका बीचको र अघिल्लो वर्ष पनि कंग्रेस र हामीबीच भएको भद्र सहमति मेरो प्रस्ताव होइन। अरु दलहरुकै प्रस्ताव हो। हामीले स्वीकारेका हौं। तसर्थ सहमति अनुसार सम्बन्धित दलहरु अगाडि जानुहुन्छ भन्ने म ठान्छु।
पछिल्लोपटक जुन राजनीतिक तनाव सिर्जना भइरहेको छ, कतै त्यही कारणले आफ्नो सम्भावना अलि धरमराएको हो भन्ने त लागेको छैन तपाईलाई?
यो त मलाई मतलब नै नभएको कुरा हो। अहिले ५० वर्ष भयो मैले राजनीति गरेको। मैले पदमा पुग्ने ईच्छा राखेर राजनीति कहिल्यै पनि गरिनँ। म न कुनै अरु कुराले प्रभावित हुन्छु। कसैले प्रधानमन्त्री हुन दिँदैन मलाई चिन्ताको विषय होइन। मलाई संविधान बनाउनु थियो। त्यसमा म लागेकै हो। मेरो उद्देश्य देश बनाउनु छ।
अब अन्त्यमा, दलहरुको जब सत्ता समीकरणको कुरा आउँछ तब लुछाचुँडी या झगडा भएको तीतो अनुभव छ हामीसँग। संविधान जारी गर्दा चाहिँ प्रमुख तीन दलले एक खालको एकता प्रदर्शन गरे। अब यो एकता कहिलेसम्म कायम रहिरहन्छ?
यो एकता धेरै अगाडि जानुपर्छ किनभने भूकम्पले धेरै ठूलो नोक्सान गरेको छ। पुर्ननिर्माण सहज कुरा होइन। त्यसबाहेक देशको उन्नति गर्नुपर्छ। अरु दलहरुलाई पनि हामीले समेटेर लैजानुपर्छ।
श्रोत्:बीबिसि नेपाली










