‘मधेसमा बल प्रयोग भएन भन्ने गुनासो पनि छ’

shakti basnet

० अहिले देशको शान्ति सुरक्षाको अवस्थालाई लिएर आलोचना भइरहेको छ, यसलाई कसरी हेरिरहनुभएको छ ?
– मुलुक असामान्य स्थितिमा छ । सिंगै राष्ट्रले केही अप्ठेराहरूको सामना गरिरहनुपरेको छ । यो परिस्थितिमा नियमित अवस्थामा जस्तै परिणामको अपेक्षा गर्नु सही हुँदैन । अहिलेको असामान्य र असहज परिस्थितिको पृष्ठभूमिमा गृह मन्त्रालयको भूमिका र शान्ति सुरक्षाको अवस्थालाई मूल्यांकन गरिनुपर्छ भन्ने लाग्छ ।

० खासगरी तराईमा अधिक बल प्रयोग भयो भन्ने सुनिन्छ…
– संविधान जारी भइसकेपछि मुलुकका केही भागमा केही असहज अवस्था सिर्जना भइरहेको छ । यो एउटा राष्ट्रिय समस्या र चुनौतीका रूपमा प्रकट भएको छ । मुख्यत: गृह मन्त्रालय र अरू केही मन्त्रालयहरूमा मात्रै त्यो व्यक्त हुन पुगेको छ । जहाँसम्म तराईमा बल प्रयोगको कुरा छ, त्यसका बारेमा मान्छेले दुवै तरिकाले आलोचना गरिरहेका छन् । एकथरिले बढी प्रयोग भयो भन्ने गरेका छन्, अर्काथरिले जति बल प्रयोग गर्नुपथ्र्यो, त्यति भएन भन्ने गरेका छन् । आ–आफ्नो दृष्टिकोणबाट हेर्दा दुवै कुरामा केही न केही सत्यता पनि छ ।

० तर तराईमा शान्ति सुरक्षा त कायम गर्न सक्नुभएन नि ?
शान्ति सुरक्षाको प्रश्न बल प्रयोगबाट मात्र पनि स्थापित हुन्छ भन्ने निरपेक्ष धारणा बनाउनु हुूदैन । अहिलेको तराईमा देखिएको असहज परिस्थितिको कुरा गर्दा राजनीतिक तहमा समाधान गर्न सकिने विषयलाई राजनीतिक तरिकाले समाधान खोज्ने, कानुन कार्यान्वयनबाट समाधान खोज्नुपर्ने विषयलाई त्यही अनुसार समाधान गर्दै जाने उपायहरू अवलम्बन गरेर मात्र शान्ति सुरक्षा कायम हुनसक्छ । यही कुरालाई तराईमा आत्मसात् गरिएको छ । राजनीतिक वार्ता र कानुनी शासन कायम गर्नुपर्ने दुवै कुरालाई एकैसाथ अगाडि बढाइरहने सरकारको नीतिका कारण परिस्थिति केही सन्तुलित जस्तो पनि बन्न पुगेको छ ।

० तराईमा दुईटा समस्या देखिन्छन्, एकातिर एम्बुलेन्सबाट बिरामी थुतेर मार्ने, जलाउनेहरू पनि पक्राउ परिरहेका छैनन्, अर्कातिर बल प्रयोग गर्दा कम्मरभन्दा माथि प्रयोग भएको देखिन्छ । के कारणले यस्तो भइरहेको छ ?
– दुवै कुरालाई हामीले परिस्थिति सापेक्ष नै हेर्नुपर्छ । आन्दोलनको स्थान, समय र प्रकृति सबै दृष्टिले हेर्दा हामीले सिद्धान्तमा जे कुरा भन्छौं व्यवहारमा प्रकट हुने बेलामा अलिकति फरक पनि हुूदोरहेछ । जस्तै, आन्दोलन रातिको समयमा हुन्छ, झडप रातिको समयमा हुन्छ । आन्दोलन शान्तिपूर्ण मात्र नभएर प्रहरी नजिक देखापर्नासाथ प्रहरीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार हुन्छ । प्रहरीमाथि छापामार प्रकृतिबाट हमला गर्ने स्थिति र्सिजना हुन्छ । त्यो बेला शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले अवलम्बन गर्नुपर्ने विधिहरू तल–माथि पर्न जाँदो रहेछ ।
पक्राउ पर्नुपर्ने मान्छेहरू नै पक्राउ नपरेको भन्ने जुन प्रश्न छ, नियन्त्रणमा लिनुपर्ने सबै मान्छेहरू सुरक्षा निकायको नियन्त्रणमा तत्कालै आउन नसक्ने अवस्था पनि हुँदो रहेछ । तर, सुरक्षा निकायको नियन्त्रणमा कहिल्यै आउँदैनन् भन्ने कुरा पनि होइन । खालि अलिकति समय लाग्ने गर्छ, त्यति मात्र हो ।

० प्रहरीले पनि त ‘राजेन्द्र महतोलाई ताकेरै आक्रमण गर्‍यो, ज्यानै लिन खोजेको थियो’ भन्ने आन्दोलनकारीहरूको आरोप छ नि ?
– त्यो रूपमा बुझ्नु हुूदैन । विराटनगरको जोगवनी नाका अवरुद्ध गर्ने उहाँहरूको कार्यक्रम अनुसार राजेन्द्र महतोसहितको टोली त्यहाँ पुग्यो । नाका अवरुद्ध भयो । नेपालका सुरक्षाकर्मीहरूले नाका खुलाउनका लागि कोसिस गरे । दशगजा क्षेत्रबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भयो । नेपालतर्फका सुरक्षाकर्मीले उहाँहरूलाई त्यहाँबाट हटाउन प्रक्रिया अगाडि बढाए । नाका अवरुद्ध गर्न खोज्नेहरू सीमापारि गएर पनि ढुंगा हान्न सुरु गरे । सीमापारिबाट पनि त्यसलाई रोक्न प्रयास भयो । राजेन्द्र महतोजीलाई चोटपटक लागेको कुरा उहाँ केही समयपछि एम्बुलेन्समा चढेर सीमापारिबाट अस्पतालमा आएपछि थाहा भयो ।

० यसको मतलब उहाँ पारि नै घाइते हुनुभयो ?
– मैले यो भनिरहेको छैन । एकजना प्रदर्शनकारी नेतालाई केही चोटपटक लागेको कुरा आयो । यो कसरी भयो भन्ने कुराको हामीले सबै कोणबाट अध्ययन गरिरहेका छौं ।

० यसको मतलब छानबिनको चरणमा हुनुहुन्छ ?
– छानबिन भनेर कुनै औपचारिक टिम नै बनाएका त छैनौं तर हामीले अध्ययन गरिरहेका छौं ।

० उहाँ त निकै सिकिस्त भएर उपचारका लागि भारत जानुभएको छ, यसबारे सरकारलाई कुनै जानकारी छ ?
– प्रारम्भिक जानकारी अनुसार बाहिर जे चर्चामा आएको छ, उहाँको स्वास्थ्य अवस्था त्यो प्रकृतिको छैन ।

० तपाई मन्त्री भएको झन्डै तीन महिना पुग्दैछ, गठबन्धन सरकार कत्तिको सजिलो वा अप्ठेरो हुदो रहेछ ?
– पहिला तीन महिना पनि मैले गठबन्धन सरकारकै मन्त्री भएर काम गरेको थिएँ । संयोग भन्नुपर्छ त्यतिबेला झलनाथ खनाल प्रधानमन्त्री हुनुहुन्थ्यो ।

० तपाईलाई मन्त्री हुन त एमालेकै नेता प्रधानमन्त्री हुनुपर्दो रहेछ…
– एमालेको अध्यक्ष नै । त्यसबेला झलनाथ खनाल एमालेको अध्यक्ष हुनुहुन्थ्यो, अहिले केपी ओली । यो संयोग पनि होला ।

० गठबन्धन सरकार चलाउनको अप्ठेरो वा सहजताको प्रश्नमै थियौं हामी…
– यो तीन महिनाको अवधिलाई हेर्दा गठबन्धनकै कारण त्यति ठूलो समस्या महसुस गर्नुपरेको छैन । मुलुकको असहज र असामान्य अवस्थामा यो मन्त्रालय सम्हाल्नुपरेको स्थितिका कारण केही चुनौती अवश्य पनि छन् । गठबन्धनका अलि–अलि सीमा हुन्छन्, यो पनि साँचो हो । मुख्य रूपमा यो असहज स्थितिले उत्पन्न गरेका चुनौतीहरूलाई सामना गर्दै जानुपर्ने अवस्था मुख्य बनिरहेको छ र मैले आफ्नो ध्यान पनि त्यतै केन्द्रित गरिरहेको छु ।

० प्रधानमन्त्रीबाट कत्तिको सहजता महसुस गर्नुभएको छ ?
– प्रधानमन्त्रीज्यूको सहयोगी भावना नै छ । आजका मुलभूत राष्ट्रिय मुद्दाहरूको समाधान कसरी हुनसक्छ भन्ने विषयमा मन्त्रिपरिषद्, सत्तागठबन्धनका पार्टीहरू र स्वयम् सरकारको नेतृत्वका बीचमा आधारभूत रूपले एकरूपता नै पाएको छु । त्यसले गर्दा त्यति ठूलो असहजता महसुस भएको छैन ।

० एकातिर राष्ट्रिय असहजता त छूदैछ, अर्कातिर तपाईहरूको काम कारबाहीले नै सरकारको आलोचना भइरहेको छ । जस्तो मन्त्रालय फुटाउने, एकसिटे पार्टीलाई पनि मन्त्री दिने । यी कुरा चाहिू कस्तो लाग्छ ?
– सकेसम्म मन्त्रालयहरू थोरै हुूदा, मन्त्रिपरिषद् सानो हुूदा राम्रो नै हुन्थ्यो होला । तर, फेरि पनि सरकारको समग्र मूल्यांकन कति जना मन्त्री भए भन्ने आधारबाट भन्दा पनि सरकारले के काम गर्‍यो भन्ने आधारबाट गर्नु उपयुक्त हुन्छ । हामी कहिलेकाहिू सरकार के गरिरहेको छ, के गर्दैछ भन्ने कुराभन्दा सरकारमा को छन् भन्ने आधारलाई मुख्य बनाएर मूल्यांकन गर्छौ । त्यसैले २–४ जना मन्त्री बढी भएर सरकारले राम्रो काम गर्‍यो भने त्यो कुरा त्यतिबेला त्यति महत्त्वको नहुन सक्छ । जहाँसम्म थोरै संख्या भए हुन्थ्यो भन्ने कुरालाई म बेठीक भन्दिनू । आजको असहज अवस्थामा सबैलाई समेटेर लैजान खोज्दा अवश्य पनि मन्त्रिपरिषद् केही ठूलो आकारको बनेको छ ।

० आलोचनाकै कुरा गर्दा, कालोबजारी नियन्त्रणमा सरकार चुकेको भन्ने गरिएको छ नि ?
– मुलुकको आपूर्ति व्यवस्था जब असहज बन्न सुरु गर्‍यो दैनिक उपभोग्य बस्तुहरूको आपूर्ति र समस्याको समाधानका निम्ति नागरिकहरूले समेत आफ्नो धैर्य र सहभागिता बढाए । सरकारले आपूर्ति व्यवस्था गर्न सकेन, हाम्रो दैनिक आवश्यकताका सामान पूर्ति गर्न सरकारले सकेन भनेर जनताले असन्तोष व्यक्त गरेनन् । यो जनताको सरकारप्रतिको सद्भाव हो । आपूर्ति व्यवस्था असहज भइसकेको स्थितिमा उत्पन्न समस्याहरूलाई समाधान गर्ने क्रममा केही न केही अप्ठेरा र समस्याहरू यदाकदा प्रकट हुने गरेका छन् । यसतर्फ सरकार निकै गम्भीर छ । यो असहज परिस्थितिमा राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि इमान्दारीपूर्वक लाग्नुको साटो अनुचित लाभ उठाउने कोसिस जो कसैले गर्छ भने सरकारले कडाइपूर्वक कारबाही गर्दै आएको छ । यो विषयमा अझ गम्भीरताका साथ सरकार अघि बढ्छ । केही दिनयता आपूर्ति व्यवस्थामा केही सुरधार देखिन थालेको छ । मात्रा केही बढेको छ । अब छिटपुट रूपमा देखिने अनियमितता नियन्त्रण गर्न पनि थप सहज हुन्छ भन्ने मलाई लाग्छ ।

० गृह मन्त्रालयमा सरुवा–बढुवा जस्ता कुराहरूमा धेरै चासो देखिन्छ । तपाईंलाई पनि दबाबहरू आउँछन् होला, पारिवारिक सदस्यहरूकै संलग्नताका समाचारहरू पनि बाहिर आएका छन्, यसमा के भन्नुहुन्छ ?
– यसमा सतप्रतिशत सत्यता छैन । यो झूट कुरा हो । पारिवारिक दबाब र चलखेलका जे कुरा मिडियामा आउने गर्छन्, त्यो सत्यमा आधारित छैनन् ।

० यस्ता कुरा तपाईंहरूकै पार्टी निकटबाट धेरै आइरहेका छन् …
– संक्रमणकालको प्रभाव सबै पार्टीहरूलाई आवश्यकताभन्दा बढी नै परेको छ । संकक्रमणकालमा सबै कुरा अलिक अव्यवस्थित र अस्तव्यस्त जस्तै देखिन्छन्, त्यो अस्तव्यस्तताको प्रभाव पार्टीहरूमा पर्दा पार्टीमा पनि यस खालका समस्या प्रकट हुूदा रहेछन् । यसलाई मैले यही अर्थमा बुझेको छु । नत्र भने कतिपय जे–जस्ता कुराहरू आउने गरेका छन्, ती कतिपय अतिरञ्जित भएर र कतिपय कपोकल्पितखालका छन् । यी विषयहरूतर्फ पनि ध्यान त दिनुपर्‍यो तर त्यो भन्दा मुख्य कुरा आफूले राम्रो गर्ने, आफ्नो कर्तव्य पूरा गर्ने कुरा मा नै ध्यान केन्द्रित गर्नुपर्छ भन्ने ठानेको छु । त्यही अनुसार लागिरहेको छु । जहाँसम्म सरुवा–बढुवाको कुरा छ, पारदर्शी ढंगले नै भएको छ । सरुवामा कहीूकतै पनि अनियमिता भएको कोही कसैले लिएर आयो भने म त्यसको सार्वजनिक रूपमा जवाफ दिन तयार छु । नियमित सरुवा, अवधि पुगेकाहरूको सरुवाबाहेक अर्को कुनै मनसायबाट अहिलेसम्म एक जना मान्छेको पनि सरुवा गरिएको छैन । यो आफ्नो मान्यतामा, एउटा प्रणालीमा चलेको छ ।