काठमाडौं, ६ असोज– एकिकृत माओवादी अध्यक्ष प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच बुधवार बेलुका भेटवार्ता भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड निवासमा बुधबार साँझ भेट्न पुगेका भारतीय राजदूत रायले भारतले संविधान संशोधनको माग नगरेको बताएका छन् । उनले आफ्नो सरकारको तर्फबाट नेपालको नयाँ संविधानमा संशोधनका लागि कुनै सूची नबनाएको र त्यो नेपाल सरकारलाई नबुझाएको जानकारी दिएका छन् ।
प्रचण्डका सहयोगी एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काका अनुसार प्रचण्डले नेपालको संविधानका विषयमा भारतले माग गरेको संशोधन बुँदाका बारेमा आधिकारीक धारणा मागेका थिए । जवाफमा राजजूदत रायले भारत सरकारले नेपालको संविधान संशोधनका लागि कुनै लिस्ट नबनाएको बताएका हुन् ।
नेपालमा नयाँ संविधान जारी भएकोमा उक्त संविधानमा तराई मधेसको समस्या समाधानका लागि ७ वटा मुख्य विषयमा तत्काल संशोधन गरी समाधान निकाल्न भारत सरकारले नेपाल सरकारलाई सुची बुझाउने तयारी गरेको समाचार भारतीय समाचार पत्र इन्डियन एक्सप्रेस को बुधबारको अंकमा प्रकाशित भएको थियो।
भेटवार्तामा राजदूत रायले तराई मधेसमा भइरहेको जतिसक्दो चाडो समाधान गर्नु पर्ने धारणा भारतको रहेको जानकारी पनि दिएका थिए। यसअघि राजदूत रायले प्रधानमन्त्री कोइरालासँग भेट गरेका थिए ।







