अष्ट्रेलियामा रहेका गैर आवासिय नेपाली महेन्द्रकुमार लम्सालले ओसेनिया क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । सातौं गैर आवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा उम्मेदवारीको घोषणा भईरहेको बेला ओसेनिया क्षेत्रको संयोजक पदमा लम्सालको उम्मेदवारी परेको हो । विगत दुइ दशकदेखि अष्ट्रेलियामा रही यहाँका हर कुनै समाजिक कृयाकलापमा सक्रिय रहँदै आएका लम्सालले अगामी दुइ बर्षका लागि नेतृत्व तहमा बसेर काम गर्न इच्छा व्यक्त गरेका हुन् ।
१९ सेप्टेम्बरका दिन सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरि उनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले आफ्नो प्रतिबद्दता पत्र समेत सार्वजनिक गरे । एनआरएनसँग विगत एक दशकदेखि संलग्न रहँदै आएका लम्साल अष्ट्रेलियन नेपाली समुदायबीच स्थापित व्यक्तित्व हुन । यस्तै सन् २०१२ मा अष्ट्रेलियाली सरकारद्धारा मन्त्रीस्तरीय सुझाव समितिको सदस्यका रुपमा मनोनित लम्साल यहाँको सरकार तथा विभिन्न दलका प्रभावशाली नेताहरुसम्म राम्रो पहुँच र सम्बन्ध भएको व्यक्तित्वका रुपमा समेत रहेका छन् । । अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली टाइम्स पत्रिकाका प्रकाशक समेत रहेका उनको उम्मेदवारीको घोषणाले अष्ट्रेलियामा रहेका नेपालीले मात्र नभइ ओसेनिया क्षेत्रका मुलुकहरु न्यूजिल्याण्ड, पपुवा न्यूगिनी र फिजीमा रहेका नेपाली समुदायबीच समेत उत्साह र विश्वास बढेको छ । उनले सार्वजनिक गरेको घोषणा पत्र यस प्रकार रहेको छ ।
एन आर एन ए ओसेनिय क्षेत्रको संयोजकको भूमिका निर्बाह गर्न पाएको खन्डमा मैले अघि सारेका थुप्रै बिषय र कार्यक्रममा सफलता प्राप्त गर्न थप उर्जा प्राप्त हुने ठानेकाले मेरा उल्लेखित प्रतिबद्दता बूदागत रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।
१. हालैको बिनाशकारी भुकम्प पछिको परिस्थितीमा गैर आबासिय संघद्वारा संचालित राहत तथा अब हुने पूनःनिर्माणका योजनाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा गर्न सकिने काम र अघि सारिने योजनाहरुलाई सफल पार्न एन आर एन अाई सि सि ले निर्देशिन गरे बमोजिम ओसेनिया क्षेत्रिय र एन आर एन अष्ट्रेलियाको कार्यसमिती सँग सहकार्य गर्ने ।
२. “एनआरएनएः पुनर्निर्माणको सच्चा साझेदार” भन्ने भाबनालाई आत्मसात गर्दै आगामी ७ औं विश्व-सम्मेलनमा प्रस्ताव गरिने पुनर्निर्माण सम्वन्धि कार्यपत्रहरुलाई मूर्तरुप दिन ओसेनिया क्षेत्रवाट सक्दो सहयोग गर्ने र केही नमूना परियोजनाहरु ओसेनिया क्षेत्रको अग्रसरतामा भूकम्प प्रभावित क्षेत्रहरुमा संचालन गर्ने ।
३.”अनेकतामा एकता” भन्ने मूल-नाराका साथ सम्पन्न ओसेनिया क्षेत्रका राष्ट्रहरुको सन् २०१५ मा न्यूजल्याण्डमा सम्पन्न भेलाद्वारा पारित ९ वुदेँ प्रतिवद्धता कार्यान्वयनमा जोड दिने ।
४.”समृद्ध-नेपालका लागि लगानी र सृजनशीलता” तथा “समृद्ध-नेपालका लागि आर्थिक मार्गचित्र” भन्ने अभियानका साथ सन् २०१२ मा अष्ट्रेलियाको सिड्नीमा ७ औं क्षेत्रिय सम्मेलन, सन् २०१४ मा जापानको तातेसिनामा सम्पन्न ८ औं क्षेत्रीय सम्मेलन तथा “गैरआवासीय नेपाली र नेपालः समृद्धिका साझेदार” अभियानका साथ सम्पन्न छैठौं गैरआवासीय नेपाली विश्व-सम्मेलन-२०१३, काठमाडौंद्वारा पारित घोषणा-पत्रहरुमा उल्लेखित प्रस्तावहरु तथा प्रतिबद्दताहरुलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न गराउन सहज भूमिका खेल्दै आबश्यक कदमहरु चाल्ने।
५. यस क्षेत्र अन्तर्गतका बिशेष गरी अष्ट्रेलिया र न्यूजील्याण्ड स्थित दूताबास तथा महाबाणिज्य दूताबाससँग सहकार्य गरी नेपालको पर्यटन बिकास तथा प्रबर्धन सम्बन्धी बिशेष कार्यक्रम ल्याउने ।
६.हालसम्म विश्वको ७१ देशमा विस्तार भएको एनआरएनका राज्य समितिहरुलाई बिस्तार गर्ने क्रममा ओसेनियाका अन्य मूलूकहरुमा नेपालीहरुको उपस्थितीको सोध खोज गरी एन सि सि गठन कोलागि पहल गर्ने । गैर आवसिय नेपाली संघ ओसेनिया क्षेत्रको संयोजक पदमा उम्मेदबारी दिनकालागि मलाई प्रेरणा दिनुहुने समस्त शुभचिन्तक र सहयोगी मित्रबधुहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । मेरा प्रतिबद्दता र घोषणाले विश्वब्यापी बन्दै गएको प्रबासी नेपालीको यो बिशाल सँजाल माझ नेपालीहरु बिचको भाईचारा अभिबृदि गर्ने काममा सानो भए पनि भूमिका खेल्न सकोस भन्ने आशा र भरोसा ब्यक्त गर्दछु ।






