भूकम्पपीडितलार्इ नेवार समाज हङकङकाे जस्तापाता

हङकङ । हंगकंगमा बसोबास गर्ने नेवारहरुको संगठन नेवार समाज हङकङले दुईपीपल १ नुवाकोटका भूकम्पपीडित चार परिवारका लागि प्रतिपरिवार दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराएको छ ।

भूकम्पपीडित शान्ता परियार, चेतबहादुर लामिछाने, अर्जुन नेपाल र शारदा नेपाललाई जस्तापाता उपलब्ध गराइएको छ । गत शनिवार सिल्भर इन्टरटेन्मेन्टको संयोजनमा जस्तापाता खरिद गरेर नेवार समाजका सल्लाहकार सम्राट श्रेष्ठ, सिल्भरका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र मिस पूर्वाञ्चल प्रियंका श्रेष्ठले संयुक्त रूपमा जस्तापाता हस्तान्तरण गरेका थिए ।

नेवार समाज हङकङका अध्यक्ष शत्रुघ्न उदासले स्थायी घर बनाउनका लागि पनि समाजले सहयोग गर्ने बताए । अस्थायी टहरा निर्माण र राहत वितरणमा समाजले भूकम्प प्रभावित विभिन्न जिल्लामा सहयोग गरेको बताउँदै हङकङमा रहेका नेपालीका तर्फबाट स्थायी घर निर्माणमा पनि सहयोग गर्न रकम संकलन गर्ने क्रम जारी रहेको उदासले बताए ।

हंगकंगमा रहेर नेवारी संस्कृतिलाई परदेशमा पनि जग्रेना गर्ने तथा सामाजिक सद्भभावका काममा अघि बढ्ने उद्देस्य ले समाजको स्थापना भएको हो  ।