भोलि परिवर्तन गरौला अहिलेलाई स्विकारौ

 नृपेश उप्रेती

पिटरबरो युके ।

nripeshबहुसंख्यक जनताको भावना समेट्न पर्ने हो, नया संविधानले त्यो गर्न सकेको छैन। तर मुलुकको स्थाइ शान्ती र अखण्डताको लागि र बिदेशी हस्तक्षेप निस्तेज गर्न पनि संविधान जारी गर्नु अत्याबश्यक भएको छ भन्दा अत्युक्ति नहोला। विशेषगरि बाबुराम भट्टराई र तराइ केन्द्रित केही नेताहरुको माध्यम भारतको नाङ्गो हस्तक्षेपले केही समय यता पराकाष्ठ नै नाघ्यो।

हाम्रो भुभाग माथी उनिहरुको गिद्देदृष्टि दसकौ पुरानो हो र यो पटक बाबुरामलाई लेण्डुपको रुपमा अघि सारे पनि उनीहरुको प्रयाश तत्काललाई असफल हुने निश्चित छ। प्रचण्डले सदनमा जुन अभिब्यक्ति त्यो पक्कै पनि बाबुराम र भारतलाई मन परेको छैन। हुन सक्छ त्यो बिगतको गल्तीको पश्चाताप थियो साथै माओवादी हिडेको बाटो बिखण्डनकारी थियो भन्ने महसुस भएको पनि हुन सक्छ।

प्रचण्डको त्यो अभिब्यक्ति साहसिक र एतिहासिक मात्र थियन उनको गुमेको छवि पनि वापस दिलाउन केही हद सम्म सफल भयो। एउटा उच्च राजनेताको झलक दिन उनी सफल भए। त्यसको लागि उनी बधाइ का हकदार छ्न। यसमा कुनै दुई मत नै छैन नेपाल हिन्दु राष्ट्र हो र संविधानमा त्यो कुरो उल्लेख हुनु पर्ने हो। ठुला पार्टी र त्यसका नेताहरुले गद्दारी गर्नाले त्यो हुन सकेन। त्यसको मुल्य एकदिन अबश्य उनिहरुले चुकाउनु पर्नेछ। तर जुन अवास्थामा भए पनि एउटा बालकको जन्म हुदैछ त्यो बालक सम्बिधान हो। उसलाई स्विकारेर हुर्काउनु बढाउनु नेपाललाई माया गर्ने हामी सबै नेपालीहरुको परम कर्तब्य हो।

हामिले हुर्काउने बढाउने क्रममा त्यो बालकलाई कस्तो बनाउने हो भन्ने कुरा हाम्रै हातमा छ। यो बालक हाम्रो आस्थाको धरोहर गाईमातालाई राष्ट्रिय जनावर कायमै गरि जन्मदै छ। अर्थात अप्रत्यक्ष रुपमा यो बालकले हिन्दुराष्ट्रलाई स्विकारेको छ। र परम्परा देखि चलिआएको सनातन धर्मको संरक्षण गर्ने कसम पनि खाएको छ। यो कारणले पनि हामिले यो बालकलाई माया गर्नु पर्छ। हामी हिन्दुहरुको जनसंख्या ८३ प्रतिशत र ॐकार परिवारको ९४ प्रतिशत छ।

भोलिको दिनमा कसरी अगाडि बड्ने भन्ने निर्णय हाम्रै हातमा छ र हिन्दुराष्ट्र नेपाल लेखाउन सक्ने जनमत हाम्रो साथमा छ। यसको लागि हामी एकजुट भएर अगाडि बढनु पर्छ। आगामी चुनावमा हिन्दुवादी दललाई हाम्रो सम्पुर्ण मत खन्हाइ संविधान संसोधन गर्न स्थानमा पुर्याउनु पर्छ। तर अहिले यो संविधानलाई स्विकारेर मुलुकको सर्वपक्षीय हित सोच्नु पर्छ।यदि यसमा हामी चुक्यौ भने हामिलाई इतिहासले माफ गर्ने छैन।अस्तु।