जनकपुरधाम, १८ भदौ । जनकपुर बम काण्डको अभियोगमा सिरहा कारागारमा रहेका निलम्वित सभासद् सञ्जय साह काठमाडौँ कारागार सारिएका छन् । साहलाई बिहीबार राति सिरहा कारागारबाट काठमाडौँ सारिएको हो । पछिल्लो २० दिनदेखि मधेसमा जारी आन्दोलनमा साहले जेलभित्रैबाट भूमिका निर्वाह गर्दै आएको आशङ्कामा काठमाडौँ सारिएको बताइएको छ । साहले जेलबाटै आफ्ना कार्यकर्ताहरुलाई आन्दोलनमा सघाउन निर्देशन दिने गरेको आशङ्का कारागार प्रशासनको रहेको थियो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले साहलाई कैदीहरुको ठाउँसारी गर्ने नियमित प्रक्रियाअनुसार काठमाडौँ पठाइएको बताउनु भएको छ । मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा गरिएको शान्तिपूर्ण आन्दोलनमा पाँचजनाको ज्यान जाने गरी गराइएको बम विष्फोटको प्रमुख आरोपी साहलाई भनिएको छ । साह विगत एक वर्षदेखि सिरहा कारागारमा थिए । विसं २०६९ वैशाख १८ गते भएको उक्त बम विष्फोटमा परी पाँचजनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए ।
निलम्वित सभासद् साह काठमाडौँ सारिए






