प्रवासी नेपाली समाज र सामाजिक सद्दभाव, सन्दर्भ: एनआरएन अधिवेसन (डेनमार्क )

sailendraशैलेन्द्र अधिकारी

कोपेनहेगन, डेनमार्क

प्रवासमा रहेका नेपालीहरुको मातृभूमि प्रतिको अगाध प्रेम, लगाव र योगदानको जति चर्चा गरे पनि अधुरो र अपुरो नै होला । 

बिशेस गरि रेमिट्यान्समा आश्रित हाम्रो जस्तो अर्थतन्त्र भएको मुलुकले स्वयम पनि प्रवासमा रहेका नेपालीहरु प्रति ध्यान केन्द्रित हुन जरुरि छ  तर पनि प्रवासी नेपाली हरु को नेपाली राजनीति  परिस्थिति प्रतिको तिखा कटाक्ष अनि नेपालमा बस्ने नेपालीहरुको प्रवासी नेपाली हरु प्रति प्रहार हुने पूर्वाग्रही धारणाले बेला बखत समाज अनि संचार जगतमा तरङ्ग पैदा हुने गर्छ ।

यो पंक्तिकार स्वयम् पनि 12 वर्ष भन्दा बढी नेपालमै सरकारी \सामाजिक क्षेत्रमा काम गरि बिगत ६/७ वर्ष देखि प्रवासमा रहिरहेको भएपनि न त आँफु विदेशमा रहेकोले नेपाल देश र नेपाली हरुको अवस्था जस्तै यो भएन, त्यो भएन, भ्रस्टाचार , गरिबी आदि देखाउदै सम्पूर्ण राष्ट्र र राष्ट्रिय परिवेश लाई दोष दिने पक्षमा छ, न त स्वदेश मै रहेका नेपालीहरुले प्रवासमा रहेका नेपालीहरुलाई बिदेशी झैं सम्झेर समय समयमा ब्यक्त विचार प्रति सहमत छ ।

सकारात्मक कुरो त के हो भने प्रवासी नेपाली र स्वदेशमा रहेका नेपालीहरु बिचको सम्बन्धको सेतु नै नेपाल राष्ट्र, राष्ट्र-भक्ति, मातृभूमि प्रतिको असिमित र अबिनासी प्रेम अनि सद्दभाव हो । यो कहिलै घट्दैन, अकाट्य रहनेछ । समस्या त बरु प्रवासमा रहने एक अर्का नेपाली बीच र नेपालमै रहेका नेपाली नेपाली बीचमा बिध्यमान छ  ।

NRNA-image[1]राजनैतिक, भाषिक, जातीय, सांस्कृतिक बिबिधताले युक्त नेपाली समाज स्वदेश मा होस् कि विदेश मा यिनै पक्ष र विपक्षमा विभक्त देख्न र भोग्न पाईञ्छ । एशिया, युरोप, अमेरिका ,अस्ट्रेलिया मध्यपुर्व तथा खाडी मुलुकक प्राय देशहरु मा नेपाली समाज लाई साझा प्रतिनिधित्व गर्ने संस्था को रुपमा एनआरएन लाई चिनिन्छ । नेपालमा आइपर्ने हरेक प्राकृतिक, दैविक प्रकोप एवं अप्ठ्याराहरुमा बिदेशमा रहेका नेपालीहरु एन आर एन मार्फत अतुलनिय योगदान गरिरहेका छन्।

पछिल्लो पटक नेपालमा गएको विनाशकारी भुकम्प बाट पिडित प्रति एन आर एन ले गरेको सहयोग नै यसको ज्वलन्त उदाहरण हो  बिधानत गैर राजनैतिक चरित्र बोकेको यो संस्था एन आर एन आँफैमा प्राय सबै देशमा राजनैतिक चरित्रका व्यक्तिहरुले नै हाँकिरहेको देखिन्छ साथै यसमा जातीय, क्षेत्रीय संस्थाहरुको राम्रै अस्तित्व रहेको पाइन्छ ।

हरेक २-२ वर्षमा हुने अधिबेशनले २-३ महिना अघि देखि नै हरेक देशका प्रवासी नेपालीहरुबीच ठुलो चाड पर्व आइरहेको छनक दिन्छ, फोन बार्ता, भेटघाट, सम्पर्क बाक्लिन थाल्छ , बाटो-घाटो, घर, कार्यस्थल, बस-ट्रेन मा भेटिएका नेपाली नेपालीहरुबीच चर्चा परिचर्चा, परिचय बढ्दै जान्छ ,आ-आफ्ना राजनैतिक, जातीय, क्षेत्रीय संस्थाहरु भित्र बाहिर सम्भावित नेतृत्वको बहस शुरु हुन्छ , व्यक्तिले आयोजना गरेको जन्मदिन, पास्नी , पुजा आजा आदि पर्वमा राजनैतिक समारोह जस्तो ठुला ठुला बहस चल्न सुरु हुन्छ, ‘हाम्रा मानिस’ का चर्चा बढी हुन थाल्छ, अन्तत; घेरा साघुरो बन्दै जान्छ ,आ आफ्ना संस्थाबाट नाम सिफारिस भै आउन होडबाजी चल्दा गुट/उपगुट पैदा हुन्छ । आफुले बाहेक अरुले गरेको भेटघाट अपवित्र महसुस गर्छन।

एक अर्का लाई दोष थुपार्दै हिड्दा उत्पन्न तरङ्ग ले प्रकारान्तरमा ठुलो बिस्फोटन ल्याउछ , निर्वाचनको दिनसम्म शंकाको फाइदा (Benefit Of Dought) लिंदै र दिंदै ओठे रुपमा आफुलाई सहयोगको आशा र बिश्वाश व्यक्त गर्दै आएका व्यक्ति तथा संस्थाहरुको एक आपस बिचको आस्था एवं बिश्वाशको पर्खाल निर्वाचन परिणामको घोषणा संगै गर्ल्याम गुर्लुम ढल्न पुग्छन  । बिश्वाश को संकट ले आफ्ना -पराया छुट्याउन सक्दैनन् ।

राजनैतिक आवरण मा व्यक्तिगत तिकडम गर्दै व्यक्ति समुहको होडबाजीमा संगैका साथी मध्ये कोहि हार्नु र कोहि बिजयी हुनुले समाजमा बिखन्डन पैदा हुन्छ , अनि गत सालको तरंगले बर्तमानमा र वर्तमानको तरंगले भविस्यमा पर्ने असर पहिले नै अनुमान गर्न सकिन्छ अनि बिस्तारै व्यक्तिको समाज प्रतिको नकारात्मक धारणा ब्रिद्दि हुने सम्भावना बढ्छ यो क्रम निरन्तर चलिरहन्छ जब सम्म प्रवासमा नेपाली समाज यसरि नै चलिरहन्छ, अतयव प्रवासमा रहेका नेपालीहरुको सद्दभाव र एन आर एन बीच अन्योंयाश्रित सम्बन्ध रहेको देखिन्छ । 

एन आर एन लाई सकारात्मक रुपमा चलाउदा प्रवासमा रहेका नेपालीहरुबीच एकता र सद्दभावमा बढोत्तरी हुन आउछ भने सामाजिक अगुवा भनिने र देखिने व्यक्तिहरुबाट हुने पर्दा भित्रका खेलले समाज समाजमा बिखन्डन ल्याई रहन्छ , सबैलाई चेतना भयो ।