काठमाडौं, ८ भदौ । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर मंगलबार पनि देशका विभिन्न जिल्लामा विरोध कायमै छ । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण १३ दिनदेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्ला ठप्प छन् । तनाव बढेपछि दाङलाई गएरातिदेखि भदौ २२ गतेसम्मका लागि दंगाग्रस्त जिल्ला घोषणा गरिसकिएको छ भने नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा
कर्फ्युकर्फ्यु र निषेधाज्ञा जारी गरिएको छ ।लगातारको बन्दले जनजीवन चौपट भएपछि स्थानीयले बन्दको बिरोधमा दिनहुँ र्याली निकालिरहेका छन् भने प्रदर्शन हिंसात्मक बन्दै गएको छ । उता, बाँकेको नेपालगञ्जमा सोमबार राती ९ बजेबाट लगाइएको कफ्र्यु अहिले ९ बजे हटाइएको छ भने निषेधाज्ञा कायमै छ ।
यहाँ अहिले प्रदर्शनकारी सडकमा उत्रिएका छैनन् । उता, अखण्ड जिल्लाको माग गर्दै अखण्ड नवलपरासी संघर्ष समितिले गरेको जिल्ला बन्द पनि जारी छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको पञ्चनगर भूताहादेखि राजमार्ग हुँदै सुनवलसम्म निषेधाज्ञा जारी गरेसँगै मंगलबार प्रदर्शन केही मत्थर भएको छ ।
प्रदर्शनकारी सडकमा नदेखिए पनि बजार, शैक्षिकसंस्था र यातायात ठप्प छन् । उता, संयुक्त लोकतान्त्रित मधेसी मोर्चाले आह्वान गरेको १० दिनदेखिको बन्दले तराईका आठ जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको हो ।
उता, रौतहटमा स्थानीय प्रशासनले हिजो दिउँसो साढे ४ बजेदेखि लगाएको कफ्र्यु मंगलबार बिहान ५ बजे हटाए पनि निषेधाज्ञा भने कायमै रहेको छ । जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएपछि मंगलबार कुनै हिंसात्मक गतिबिधि र प्रदर्शन भएको छैन । यातायात, बजार र शैक्षिकसंस्था भने ठप्प छन् ।
प्रदेश २ मा अन्य जिल्लालाई समेत गाभेर स्वायत्त मधेश प्रदेश बनाउनुपर्ने माग सहित मोर्चाले बन्द गराउँदै आएको छ । महोत्तरीमा मोर्चाका कार्यकर्ताले सोमबार राती जलेश्वर–५ र जलेश्वर–१५ मा रहेका दुई वटा सशस्त्र प्रहरीको बिट जलाएका छन् । सप्तरीमा बन्दकर्ताले राजबिराज, भारदह, रुपडी, कुसवा, कञ्चनपुर, कल्याणपुर लगायतका स्थानमा मंगलबार पनि प्रदर्शन जारी राखेका छन् । उता, रुकुम जिल्लालाई विभाजित गरेको भन्दै चर्किएको रुकुम आन्दोलन मंगलबार पनि जारी छ । रुकुममा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ तर प्रदर्शनकारीले दिनहुँ निषेधाज्ञा तोडेर प्रदर्शन गर्दै आएका छन् ।
मंगलबार पनि आन्दोलन जारी, अधिकांश जिल्लामा कर्फ्यु






