एमालेमा स्थायी र पोलिट्ब्यूरो चयन भोलिमात्र

काठमाडौं : नेकपा एमालेको स्थायी र पोलिट्ब्यूरो सदस्यको चयन शनिबार नहुने भएको छ ।
नेताहरुले सहमतिको प्रयास जारी राखेपछि एमालेको केन्द्रीय निर्वाचन आयोगले स्थायी र पोलिट्ब्यूरो सदस्य चयनका लागि गरिने निर्वाचन प्रक्रिया आइतबार बिहान १० बजेसम्मका लागि स्थगित गरेको छ ।
एमाले पदाधिकारीहरुको केही दिनअघिको बैठकले पोलिट्ब्यूरो र स्थायी कमिटिमा सदस्य चयनको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दिएको थियो ।
दुबै नेताहरु शनिबार बिहानैबाट भागवण्डा मिलाउनका लागि छलफलमा बसेका थिए । सहमतिबाटै दुबै कमिटिका सदस्यको टुंगो लगाउन दुबै नेता छलफलमा केन्द्रित भएपछि निर्वाचनपक्रिया एक दिन पर सरेको हो ।
निर्वाचन आयोगले दुबै कमिटिमा सदस्य चयनका लागि शनिबार दिउँसो निर्वाचन गर्ने कार्यक्रम बनाएको थियो । दुई गुटमा विभाजित एमालेमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच पोलिट्ब्यूरो र स्थायी कमिटिमा आफ्नो पक्षमा बहुमत पार्ने रस्साकस्सीले चयन प्रक्रिया लम्बिएको हो ।
एमालेले नवौं महाधिवेशन भएको ५ महिना हुन लाग्दा पनि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गर्न सकेको छैन । केन्द्रीय कमिटिको बैठक तीन दिनयता मुख्यालय बल्खुमा बसिरहेको छ ।