दश तोला सुन काठमाडौं विमानस्थलमा

लण्डन । Tribhuvan_airport[1]

ब्रिटिश पार्सपोर्ट होल्डर एक नेपाली युवाले बोकेको दश तोला सुन काठमाडौं विमानस्थलले कब्जा गरिदिएपछि त्यसलाई छुटाइदिन आग्रह गर्दै एनआरएन यूकेले एक पत्र पठाएको छ ।

छुट्टीमा नेपाल जांदै गरेका वेस्ट लण्डन निवासी २३ वर्षीय ती युवाले लगेको सुन उनीसंग नेपाली पासपोर्ट नभएका कारण भन्सार पास नभएको हो ।

एअरपोर्टका कर्मचारीले सुन छुटाउनका लागि ‘उनी एनआरएनको सदस्य हुन’ भन्ने व्यहोराको पत्र आवश्यक हुने बताएपछि परिवारले सहयोगका लागि एनआरएन यूकेलाई आग्रह गरेको थियो ।

बिहिबार एनआरएन यूकेले लेखिदिएको पत्र लिएर उनी शुक्रबार विमानस्थल जाने र सुन फिर्ता माग्ने योजना छ ।

बुधबार काठमाडौं विमानस्थल उत्रिएका उनले नेपालमा आफन्तका लागि उपहार दिन भनेर  सुन लिएर गएका थिए ।

लण्डनमा रहेका उनका बुबाले नेपालीपत्रसंग भने, ‘नेपालमा धेरै दिदबिहीनी छन, सबैका लागि थोरै थोरै भएपनि केहि दिनुपरयो भनेर छोराले सुन लिएर गएको थियो । उसंग ब्रिटिश पासपोर्ट भएका कारण भन्सारबाट पास हुन दिएनछन ।’

‘भन्सार तिरेर भएपनि लैजाने भन्ने हाम्रो सोंच थियो’, उनले भने, ‘ब्रिटिश पासपोर्ट हुनेले भन्सार तिरेर पनि लैजान पाइंदैन भन्ने हामीलाई थाहा नै थिएन ।’

सुन आफनो नियन्त्रणमा लिएपछि भन्सारका कर्मचारीले उनलाई सुन फिर्ता पाउनका लागि यूकेबाट एनआरएनको सदस्य हो भन्ने पत्र लिएर आउन भनेका थिए । सोहिअनुसार बाबुले एनआरएन यूकेलाई पत्र लेखिदिन आग्रह गरेका थिए ।