नेपालले माल्दिभ्सको सामना गर्ने

काठमाडौं, २५ साउन । साफ अण्डर सिक्सटिन फुटबल च्याम्पियनसिपमा सोमबार (आज)नेपालले माल्दिभ्सको सामना गर्दैछ । बंगलादेशको सिलेटमा आइतबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता भारतले श्रीलंकालाई ५-० ले हराएको छ । दक्षिण एसियाका ६ राष्ट्र सहभागि प्रतियोगितामा नेपालको समुह बी मा माल्दिभ्स र अफ्गानिस्तान रहेका छन् ।
यो उमेर समुहमा नेपालले माल्दिभ्ससँग सोमबार पहिलो पटक खेल्न लागेको हो । यसैगरी समुह ए मा आयोजक बंगलादेशसँगै भारत र श्रीलंका रहेका छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसअघि पहिलो र दोस्रो संस्करण नेपालमा भएको थियो । पहिलो संस्करणको उपाधि पाकिस्तानले जित्दा नेपाल तेस्रो भएको थियो ।