६ प्रदेश बनाउने सहमति भइसक्यो : ज्ञवाली

काठमाडौं, २० साउन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भोलि विहीबार दिउँसोसम्ममा संविधानको मस्यौदाका विवादित विषयहरु टुंगिने दाबी गरेका छन् । बुधबार राजधानीमा रिपोटर्स् क्लबले गरेको कार्यक्रममा उनले ६ प्रदेश बनाउने र सीमांकनसहितको संविधान जारी गर्ने सहमति भइसकेको दाबी गरे । कार्यक्रममा एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले नयाँ संविधानले सबैको भावनालाई समेट्ने भन्दै संविधानका विषयमा अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक नभएको बताए ।
यस्तै, कांग्रेस नेता चन्द्र भण्डारीले श्रावणभित्रै संविधान जारी हुने भन्दै यसका अन्तर्वस्तुमा अब विवाद गर्नुको औचित्य नहुने बताए । उनले धर्मका नाममा पार्टीभित्रकै केही नेताहरुले गरिरहेको क्रियाकलाप पार्टीको नीतिविपरितको गतिविधि भएको बताए । कार्यक्रममा सदभावना पार्टीका लक्ष्मणलाल कर्णले भने ठूला राजनीतिक दलले जालझेलपूर्ण तरिकाले संविधान ल्याउन खोजेको भन्दै त्यसलाई स्वीकार्न नसकिने धारणा राखे ।