बेलायतको नेपाली संघसंस्थाहरुमध्येकै एक नम्बर मानिने गुल्मी जिल्ला समाज यूकेको वार्षिक कार्यक्रम आइतबार सम्पन्न भयो ।
केन्टको मेइडस्टोनमा सम्पन्न सो कार्यक्रममा बेलायतका विभिन्न शहरहरुसंगै स्कटल्याण्डबाट समेत गरी झण्डै एक हजार गुल्मेलीहरु सहभागी थिए । कार्यक्रममा बारबीक्यू, भलिबल प्रतियोगिता, नौमति बाजा तथा चर्चित लोकदाहोरी कलाकारका प्रस्तुति विशेष थिए ।

कार्यक्रममा सहभागी हुनका लागि बर्गिंगहम र नटिंगहमका गुल्मेलीहरु बस नै रिजर्भ गरेर आएका थिए । साउथ ईस्ट लण्डनबाट समेत दुई वटा भरिभराउ बस केन्ट पुगेका थिए ।
समाजका अध्यक्ष अर्जुन गौतमले कार्यक्रमको पहिलो सत्रको अध्यक्षता गरेका थिए । त्यस अवसरमा एनआरएन यूकेका अध्यक्ष महेन्द्र कंडेल प्रमुख अतिथी थिए भने बेलायती सेनाका लेफ्टिनेन्ट कर्णेल यमबहादुर राना र क्याप्टेन गोबन्द रानालाई विशेष सम्मानसहित अतिथी बनाइएको थियो ।
भूकम्पमा ज्यान गुमाउनेको स्मृतिमा मौनधारण गरिएको कार्यक्रममा नेपाल तथा बेलायत दुवै देशका राष्ट्रिय गान समेत बजाइएको थियो । कार्यक्रमका अतिथी, नेपालबाट आएका कलाकार तथा समाजको आजिवन सदस्यता लिनेहरुको सम्मानमा नौमति बाजा बजाउंदै खादा ओढाएर सम्मान गरियो ।
समाजले गुल्मीमा वितरण गरेको चौंथो एम्बुलेन्सका लागि सहयोग गर्नेहरुलाई पनि सम्मान गरयो । सो एम्बुलेन्स वितरणका लागि मोति पुनले संयोजन गरेका थिए । त्यस्तै समाजलाई हालसालै च्यारिटीमा दर्ता गर्न पहल गर्ने सल्लाहकार मिन दर्लामी तथा एकाउण्टेन्ट लेखनाथ घिमिरेले पनि समाजका तर्फबाट सम्मान पाए । समाजले बेलायतस्थित सञ्चारकर्मी कुशल श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा मन्तव्य दिने एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेल, लेफिटनेन्ट कर्णेल यमबहादुर राना, पत्रकार ध्रुबराज अर्याल लगायतले समाजले सामाजिक क्षेत्रमा उदाहरणीय कामहरु गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रमका सहभागीलाई उपाध्यक्ष विनोद ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव राम गलामी र सचिव शिव भण्डारीले गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमहरु थिए जसमा नेपालबाट आएका लोकदोहोरी गायिका मञ्जु पौडेल र गायक प्रसाद खप्तरी मुख्य आकर्षण थिए । उनीहरुले प्रस्तुत गरेका लोक तथा दोहोरी गीतहरुमा कार्यक्रममा उपस्थित अधिकांश नाचिरहेका देखिन्थे ।
त्यसबाहेक विभिन्न स्थानीय कलाकारहरुका आकर्षक नृत्यले पनि कार्यक्रमलाई थप रमाइलो बनाएका थिए । सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन मञ्जु भण्डारी(खरेल)ले गरेकी थिइन ।
त्यस्तै भलिबल प्रतियोगितामा विभिन्न ४ समूहबीच प्रतिस्पर्धा भएको थियो । जसमा जमघट परिवार प्लमस्टिडले उपाधि जित्यो । लण्डन भलिबल टिम ए दोस्रो भयो । म्यान अफ द म्याच एभरेष्ट ग्रुप आसफोर्डका झविन्द्र राना भए । बेस्ट लिफटर चन्द्रमोहन पुन भने बेस्ट स्पाइकर विजेता जमघट परिवारकै खेम भण्डारीले पाए ।
प्रतियोगितामा रेफ्रीको भुमिकामा अमृत केसी, खड्क रेश्मी र अशोक थापा थिए । विजेतालाई ३ सय पाउण्ड र दोस्रो हुनेलाई १ सय ५० पाउण्ड नगदसहित विजेताहरुलाई भलिबल प्रतियोगिताका संयोजक विनोद ज्ञवाली र समाज अध्यक्ष अर्जुन गौतमले ट्रफी तथा नगद पुरस्कार वितरण गरे ।











