दुबईमा २३ जना नेपाली जेलमा, एक जनालाई मृत्युदण्ड

saudi-killing-690x350

काठमाडौं १४ साउन  : संयुत्त अरब एमिरेट्स युएईको दुबईमा २३ जना नेपालीले कैदी जीवन बिताइरहेका छन् । विभिन्न आरोपमा नेपाली कामदारहरु जेलमा परेका हुन् । यी मध्ये एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

१३ वर्ष पहिलेदेखि जेल जीवन बिताइ रहेका धारी ३ दार्चुलाका अमर बहादुर बमलाई दबईको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । युएईकै अन्य राज्यहरुमा के कती नेपाली छन् भन्ने एकिन विवरणका लागि दूतावासले तथ्यांक संकलन गरिरहेको दूतावासकाको वेइभ साइडमा लेखिएको छ ।

दूतावासको तथ्याकं अनुसार जेल जीवन बिताउने मध्ये ४ जना महिला छन् । ती ४ महिलाहरुलाई दुबईमा रहेको महिला कारागारमा राखिएको छ । १९ जना पुरुष नेपाली मध्ये ५ जनालाई दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा राखिएको र  बाँकीलाई दुबईमा रहेको अपराध अनुसन्धान केन्द्रमा राखिएको तथ्याङ्कमा उल्लेख छ । सेन्ट्रल जेलमा रहेका ५ जना मध्ये एक जनालाई हत्या आरोप र अर्का एक जनालाई भने बलत्कारको आरोप छ ।

बाँकी ३ जना मध्ये एक जनालाई कसैको हत्या योजना बनाएकोले आजीवन कैद सजाय सुनाइएको छ । अर्का एक जनालाई लागु पदार्थ ओसारपोसारमा संलग्न  भन्दै आजीवन कैद सजाय सुनाइएको हो । त्यस्तै अर्का एकजना सामान चोरीमा संलग्न भएका कारण जेलमा छन् । जेलमा रहेका अरु १४ जना नेपालीमाथि पनि विभिन्न आरोप लागेको छ ।

जेल जीवन बिताई रहेकाको पूर्ण ठेगाना पारिवारको अनुरोधका कारण सार्वजनिक गरिएको छैन ।  युएईका विभिन्न जेलमा रहेका नेपालीको विषयमा नखुलाइएको भएपनि दुबईमा २३ जना नेपालीले जेल सजाय भोगिरहेको र कर्मचारी अभावका कारण नियमित जेल भ्रमण गर्न नसकिएको युएईका लागि नेपाली राजदूतावासले जनाएको छ ।