ग्रेटर रश्मोर नेपाली कम्युनिटीले रसुवाका बाढीपीडितलाई दूतावासमा २८ लाख ६७ हजारको चेक हस्तान्तरण

शिव भण्डारी, लन्डन नेपाल न्यूज।

लन्डन, २३ अक्टोबर २०२६। बेलायतमा सक्रिय नेपाली संस्था ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) ले नेपालको रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडित परिवारहरूको सहयोगार्थ सङ्कलन गरेको १४ हजार १९७ पाउन्ड ९ पेन्स (करिब २८ लाख ६७ हजार नेपाली रुपैयाँ) लन्डनस्थित नेपाली दूतावासमार्फत हस्तान्तरण गरेको छ।

शुक्रबार, २३ अक्टोबर २०२६ मा लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई राहत रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित राहत रकम हस्तान्तरण कार्यक्रममा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबो, रि.लेफ्टिनेन्ट महासचिव सुनिल राना,सुशिला थापा मगर , श्री प्रसाद माबो लगायत संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहयोगको चेक ग्रहण गर्दै कार्यवाहक राजदूत दुवाडीले ग्रेटर रश्मोर नेपाली कम्युनिटी तथा राहत अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण नेपाली र गैरनेपाली दाताहरूप्रति आभार व्यक्त गरे। उनले प्राप्त सहयोग यथासक्य चाँडो लक्षित समुदायसम्म पुर्‍याउन पहल गर्ने प्रतिबद्धता जनाए।

बाढी प्रभावित क्षेत्रमा प्रारम्भिक राहतको व्यवस्थापन भइसकेको उल्लेख गर्दै दुवाडीले अब दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि थप सहयोग आवश्यक रहेको बताए।

जीआरएनसीले सञ्चालन गरेको राहत अभियानमा बेलायतका नेपाली समुदायसँगै स्थानीय सरकारी निकाय, विभिन्न सामाजिक संस्था, व्यावसायिक प्रतिष्ठान तथा गैरनेपाली शुभेच्छुकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

बेलायतको ऐतिहासिक सैनिक सहर अल्डरसटमा सन् २००३ मा स्थापना भएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीले रश्मोर क्षेत्र तथा आसपास बसोबास गर्ने नेपालीहरूको सामाजिक हित, कल्याण र सामुदायिक एकताका लागि काम गर्दै आएको छ।

नेपालको रसुवा  आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिपछि रश्मोर बरो काउन्सिलका प्रमुख कार्यकारी अधिकृत, फार्नबरो विमानस्थल तथा विभिन्न गैरनेपाली शुभेच्छुकहरूले नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गर्दै जीआरएनसीलाई राहत अभियान सञ्चालन गर्न अनुरोध गरेका थिए।

सोही अनुरोधलाई सकारात्मक रूपमा लिँदै संस्थाले बाढीपीडित परिवारहरूको सहयोगार्थ आर्थिक सङ्कलन अभियान अघि बढाएको थियो।

संस्थाका अनुसार यस अभियानमा फार्नबरो विमानस्थल सबैभन्दा ठूलो आर्थिक सहयोगकर्ताका रूपमा रहेको थियो।

 राहत सङ्कलन निम्न संस्था 

* फार्नबरो विमानस्थल (Farnborough Airport)
* रश्मोर बरो काउन्सिल, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा काउन्सिलरहरू
* फार्नबरो फुटबल क्लब
* रोटरी क्लब अफ फार्नबरो/अल्डरसट
* फ्रेन्ड्स अफ जीआरएनसी
* फार्नहामस्थित मुस्लिम समुदाय
* सोभरेन हस्पिटालर अर्डर अफ सेन्ट जोन अफ जेरुसेलम
* विभिन्न नेपाली सङ्घसंस्था तथा जीआरएनसीका नेपाली सदस्यहरू

अध्यक्ष लिला सेलिङ माबोद्वारा सहयोगी सबैप्रति आभार

संस्थाकी अध्यक्ष लिला सेलिङ माबोले चाडपर्वको व्यस्तताका बाबजुद पनि रसुवाका बाढीपीडित परिवारहरूको सहयोगार्थ सञ्चालित मानवीय अभियानमा साथ दिने सम्पूर्ण दाताहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

उनले राहत अभियान सफल बनाउन योगदान पुर्‍याउने ट्रस्टी, पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति, विभिन्न सहयोगी संस्था तथा सम्पूर्ण जीआरएनसी परिवारलाई विशेष धन्यवाद दिइन्।

नेपालमा प्राकृतिक विपत्ति आउँदा विदेशमा रहेका नेपालीहरूले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी बिर्सन नहुने उल्लेख गर्दै अध्यक्ष माबोले दुःखमा परेका परिवारलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताइन्।

संस्थाका महासचिव रि.लेफ्टिनेन्ट सुनिल रानाले राहत अभियानमार्फत सङ्कलित रकम नेपाली दूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने उद्देश्य रहेको जानकारी दिए।

उनले राहत अभियानमा नेपाली समुदायका अतिरिक्त बेलायती सरकारी निकाय, व्यावसायिक प्रतिष्ठान र विभिन्न समुदायबाट प्राप्त सहयोगले संस्थालाई थप उत्साहित बनाएको बताए।

नेपालमा आइपरेको विपत्तिमा सहयोग जुटाउन बेलायतका विभिन्न समुदायलाई एउटै मानवीय अभियानमा जोड्न सफल जीआरएनसीको यस पहलले नेपाली तथा बेलायती समुदायबीचको मित्रता, सद्भाव र सहकार्यलाई थप बलियो बनाएको छ।

रसुवाका बाढीपीडित परिवारहरूको दुःखमा साथ दिँदै जीआरएनसीले सञ्चालन गरेको यो राहत अभियान विदेशमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको माया, एकता र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *