लन्डन। बेलायतमा बसोबास गर्दै आएका धादिङवासीहरूको एकता, सामाजिक भावना अभिवृद्धि तथा सांस्कृतिक संरक्षणका उद्देश्यले गठित ‘धादिङ समाज बेलायत’को संयोजकमा सामाजिक अभियन्ता सुरेन्द्र रुपाखेती चयन भएका छन्। हालै सम्पन्न धादिङलीहरूको भेलाले रुपाखेतीलाई उक्त जिम्मेवारी सुम्पिएको हो।
बेलायतमा रहेका धादिङली युवा वर्ग तथा विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरूलाई समेट्दै सामाजिक सद्भाव र एकता कायम गर्ने लक्ष्यसहित संस्थालाई अगाडि बढाइएको जनाइएको छ। नवनियुक्त संयोजक रुपाखेती विगत डेढ दशकदेखि बेलायतस्थित विभिन्न सामाजिक संघ–संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सक्रिय रहँदै आएका छन्।
रुपाखेती एनआरएनए यूकेका पूर्व सल्लाहकार हुनुका साथै रोयल बरो अफ ग्रिनविच नेपाली सोसाइटीका पूर्व प्रवक्तासमेत हुन्। संस्थागत नेतृत्व र सञ्चार क्षेत्रमा राम्रो अनुभव हासिल गरेका उनले बुद्ध फाउन्डेसन र सिर्जनशील लेस्टर नेपाली यूके लगायतका संस्थाहरूमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। बुद्ध फाउन्डेसनमार्फत सञ्चालन भएका विभिन्न सामाजिक तथा परोपकारी अभियानहरूमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।
अभियन्ता रुपाखेतीले संकटका समयमा नेपालमा उल्लेखनीय मानवीय सहयोग पुर्याउँदै आएका छन्। महाभूकम्प, कोरोना महामारी तथा कालीगण्डकी क्षेत्रमा आएको बाढी लगायतका प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि बेलायतबाट राहत संकलन गरी नेपाल पठाउन उनले अग्रणी भूमिका निर्वाह गरेका थिए।
उनको संयोजनकारी नेतृत्वले बेलायतमा रहेका धादिङवासीहरूबीच एकता, समृद्धि र सामाजिक सद्भाव अझ सुदृढ हुने विश्वास गरिएको छ। जिम्मेवारी सम्हाल्दै संयोजक रुपाखेतीले आगामी दिनमा बेलायतस्थित अन्य सामाजिक संघ–संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, सबै धादिङवासीहरूलाई समेटेर धादिङ समाज बेलायतको प्रथम अधिवेशन चाँडै आयोजना गर्ने तयारी भइरहेको जानकारी समेत उनले दिएका छन्।






