लन्डन । बेलायतको केम्टन पार्कमा भव्य रूपमा सम्पन्न नेपाली मेला २०२६ उत्साह, सांस्कृतिक रौनक र एकताको सन्देशसहित सफलतापूर्वक सम्पन्न भएको छ। तमुधिँ युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित उक्त मेलामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ सम्पन्न मेलामा नेपाली भेषभूषा, परम्परा, कला तथा विविध सांस्कृतिक झाँकी र नृत्यले केम्पटन पार्कलाई दिनभर नेपालमय वातावरणमा रूपान्तरण गरेको थियो। कार्यक्रममा ४२ संघसंस्थाले झाँकी तथा २१ समूहले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए।
कार्यक्रममा पूर्व उपसभामुख तथा सांसद इन्दिरा राना मगर, सांसद मिङ्मा डेभिड शेर्पा ब्रिगेडियर जनरल अनुप शाह लगायत विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, बेलायतस्थित संघसंस्थाका अध्यक्ष, व्यवसायी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला आयोजक तमुधिँ युकेले आकस्मिक बैठकमार्फत मेला पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन गर्ने निर्णय गरेको थियो। मेलाबाट संकलित रकम तथा संस्थागत कोष प्रयोग गरी नेपालका बाढीपीडितका लागि तत्काल सहयोग पठाइने निर्णय गरिएको संयोजक कमल गुरुङले जानकारी दिए। उनले विपद्को घडीमा विदेशस्थित नेपाली समुदायको एकता र जिम्मेवारीको उदाहरण प्रस्तुत भएको उल्लेख गरे। कुल रु. १ करोड १ हजार रुपैयाँ बाढीपीडित सहयोगका लागि पठाइने आयोजकले जनाएको छ।
उपाध्यक्ष तथा संयोजक कमल गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। हजारौँ दर्शकहरूको उत्साहजनक उपस्थितिले मेलाले बेलायतमा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट देखाएको छ।
झाँकी र नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नेपालबाट आएका राजु गुरुङ, दीप कोके गुरुङ, ओमप्रसाद गुरुङ, पशुपति राई र श्रीजना सुब्बा रहेका थिए। नृत्य प्रतियोगिताका निर्णायकमा रजनी गुरुङ (मंगली), लक्ष्मी गुरुङ तथा बेलायतका कोरियोग्राफर कविता घर्तीमगर गुरुङ र कर्म पहाडी शेर्पा रहेका थिए। समन्वय एकेन्द्र गुरुङले गरेका थिए।
एम्बासडर कप २०२६ मा पासा पुचः गुठी यूकेले लगातार उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ।प्रथम – पासा पुचः गुठी यूके
द्वितीय – मगर संघ यूके -तृतीय – किरात राई यायोक्खा यूके-त्यसैगरी एनआरएनए कप पनि पासा पुचः गुठी यूकेले नै जितेको छ,
नृत्य प्रतियोगिता:प्रथम – तनहुँ समाज यूके-द्वितीय – पासा पुचः गुठी यूके-तृतीय – किरात राई यायोक्खा यूके
झाँकी प्रतियोगिता:प्रथम – पासा पुचः गुठी यूके-द्वितीय – मगर संघ यूके-तृतीय – बर्न्ट ओक समाज यूके
कार्यक्रममा समाजसेवा, कला तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘इन्स्पायरिङ पर्सन अफ द इयर’ सम्मान प्रदान गरिएको थियो।सम्मानित व्यक्तित्वहरू:काउन्सिलर निना गुरुङ (पूर्व मेयर, मेडवे बरो काउन्सिल)बिमला सेनी (अध्यक्ष, FNJ UK)
डा. दूत पुन र नगेन्द्र नेम्बाङ (ऐभरेष्ट टाइम्स)ग्रान्डमास्टर तुलसीकुमार गुरुङ
मेलामा स्टल संयोजक-उपाध्यक्ष दिल माया गुरुङले सयोजन गरेको खानाका स्टल, व्यापारिक तथा च्यारिटी स्टल, स्वास्थ्य शिविर र राफल ड्रजस्ता गतिविधिले वातावरण थप उत्साहपूर्ण बनाएको थियो।
स्टेज कार्यक्रमको सञ्चालन सूर्य गुरुङ, योगेश गुरुङ, दुर्गा गुरुङ, शिवाङ्गी गुरुङ र हेलिशाले गरेका थिए। तमुधिँ यूकेको औपचारिक कार्यक्रम महासचिव डा. विशाल गुरुङ र सचिव बिमल गुरुङले सञ्चालन गरेका थिए। व्यापार स्टल संयोजक दिलमाया गुरुङले संयोजन गरेकी थिइन्।
यसैबीच, एनआरएनए यूकेका प्रमुख संरक्षक तथा तमुधिँ लण्डन इकाइका पूर्व अध्यक्ष डेभिड गुरुङले नेपालमा आएको बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै विश्वभरका नेपालीहरूलाई एकजुट भई सहयोगमा जुट्न अपिल गरेका छन्।
नेपाली मेला २०२६ ले बेलायतमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्वपूर्ण सन्देश दिएको छ।







