लन्डनबाट आर. के. त्रिपाठीले डा. शेखर कोइरालालाई जन्मदिनको शुभकामना दिदै पठाए कांग्रेस एकताको सशक्त सन्देश

लन्डन, २५ अगस्ट — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको जन्मदिनको अवसरमा लन्डनस्थित वरिष्ठ इन्जिनियर आर. के. त्रिपाठीले कांग्रेस एकता, नयाँ नेतृत्व र राष्ट्रिय दृष्टिकोणबारे गहिरो राजनीतिक सन्देशसहित शुभकामना व्यक्त गरेका छन्।

त्रिपाठीले शुभकामना सन्देशमा डा. कोइरालाको सादगी, बौद्धिकता, शालीनता र राष्ट्रप्रतिको दृष्टिकोणबाट आफू प्रभावित भएको उल्लेख गर्दै यसलाई “व्यक्ति पूजा होइन, राजनीतिक मूल्यांकन” भएको स्पष्ट पारेका छन्। उनका अनुसार आजको नेपाल र नेपाली कांग्रेस दुवै जटिल मोडमा उभिएका छन्, जसले नेतृत्वको गुणस्तर र राजनीतिक संस्कारबारे गम्भीर प्रश्न उठाएको छ।

उनले १३ जनवरी २०२५ मा बेलायतको संसद् भवन वेस्टमिन्स्टरमा डा. कोइरालाको सहभागितालाई स्मरण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने नेतृत्वको महत्व औंल्याएका छन्। उक्त अवसरमा बेलायती मन्त्री तथा सांसदहरूसँगको संवादमा डा. कोइरालाले नेपाल–बेलायत सम्बन्ध, जलवायु न्याय, गोर्खा सैनिकका माग, सन्तुलित परराष्ट्र नीति र लोकतान्त्रिक मूल्यबारे धारणा राखेको त्रिपाठीले उल्लेख गरेका छन्।

सन्देशमा उनले नेतृत्व भनेको केवल चुनाव जित्ने क्षमता नभई देशको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा मर्यादित ढंगले प्रस्तुत गर्न सक्ने क्षमता पनि भएको बताएका छन्।

त्रिपाठीले डा. कोइरालाको पारिवारिक र राजनीतिक विरासतलाई पनि जोड दिएका छन्। वि.पी. कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मको लोकतान्त्रिक परम्परालाई स्मरण गर्दै उनले डा. शेखर कोइरालाको राजनीतिक यात्रा चिकित्सा सेवा, संवाद र संगठनात्मक अनुभवसँग जोडिएको उल्लेख गरेका छन्।

त्यस्तै, उनले नेपाली कांग्रेस वर्तमानमा गम्भीर संकटमा रहेको उल्लेख गर्दै पार्टीभित्रको अविश्वास, नेतृत्व विवाद र कमजोर चुनावी परिणामलाई मुख्य चुनौतीका रूपमा प्रस्तुत गरेका छन्। “अदालतले कानुनी समाधान दिन सक्छ, तर राजनीतिक एकता नेतृत्वले मात्रै सम्भव बनाउँछ,” त्रिपाठीले भनेका छन्।

उनले कांग्रेसलाई एकताबद्ध बनाउन “समग्र एकता महाधिवेशन” आवश्यक रहेको औंल्याउँदै पुराना, मध्यम र नयाँ पुस्तालाई समेट्ने नेतृत्वको खाँचो औंल्याएका छन्। उनका अनुसार आज कांग्रेसलाई गुटगत नेता होइन, सबै पक्षलाई जोड्ने समावेशी नेतृत्व आवश्यक छ।

त्रिपाठीले नेपालको वर्तमान भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय एकता र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। साथै, जेन–जी पुस्ताको असन्तुष्टिलाई गम्भीर रूपमा लिएर नयाँ पुस्तालाई पार्टीभित्र स्थान दिनुपर्ने सुझाव दिएका छन्।

सन्देशको अन्त्यमा उनले डा. शेखर कोइरालालाई जन्मदिनको शुभकामना दिँदै कांग्रेस पुनर्निर्माणमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन्। “विभाजित कांग्रेसलाई जोड्ने नेता बन्नु नै आजको सबैभन्दा ठूलो ऐतिहासिक जिम्मेवारी हो,” उनले उल्लेख गरेका छन्।

— आर. के. त्रिपाठी
वरिष्ठ इन्जिनियर, लन्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *