लन्डनको वुलविचमा चलचित्र जय लाखे” प्रदर्शन हुँदै

लन्डन — नेपाली भाषा र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित बहुप्रतीक्षित एनिमेटेड चलचित्र “जय लाखे” को विशेष प्रदर्शन आगामी ६ सेप्टेम्बर २०२६ आइतबार लन्डनमा आयोजना हुने भएको छ।

ट्रामशेड, वुलविच (SE18 6ES) मा साँझ ६ बजे हुने यस प्रदर्शनलाई लक्षित गर्दै आयोजक पक्षले व्यापक तयारी अघि बढाएको छ। कार्यक्रममा अग्रिम टिकट £१० तथा ढोकामा £१५ शुल्क निर्धारण गरिएको छ।

कलाकार एवं इनास यूकेका संस्थापक तथा इनास ग्लोबलका पूर्व उपाध्यक्ष मनिष श्रेष्ठले उक्त कार्यक्रमबारे जानकारी दिँदै “जय लाखे नेपाली कला, संस्कृति र पहिचानलाई विश्वमाझ चिनाउने ऐतिहासिक चलचित्र हो” बताएका छन्। उनले नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई आफ्नो मौलिक सांस्कृतिक धरोहरको संरक्षणमा योगदान दिन आग्रह समेत गरेका छन्।

“जय लाखे” काठमाडौँ उपत्यकामा प्रचलित लाखे परम्परामा आधारित एक पौराणिक कथा हो, जसमा एक दानव प्रेम र संस्कृतिको प्रभावले देवतामा रूपान्तरण भएको कथा प्रस्तुत गरिएको छ । यही कथावस्तुलाई आधुनिक एनिमेसनमार्फत प्रस्तुत गरिएको चलचित्रले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ।

यस चलचित्रले स्विडेनको स्टकहोम सिटी फिल्म फेस्टिभल, लुलेआ इन्टरनेशनल फिल्म फेस्टिभल लगायत विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा “बेस्ट एनिमेटेड फिल्म” अवार्ड जित्नुका साथै अन्य थुप्रै फेस्टिभलमा विशेष सम्मान र चयन प्राप्त गरेको छ ।

कार्यक्रमलाई गुरखा क्लब, कथा क्राफ्टर्स स्टुडियोस लगायत विभिन्न संस्थाहरूको सहकार्य रहेको छ भने नेपाली समुदायका विभिन्न संघसंस्थाहरूले समर्थन जनाएका छन्।

आयोजकका अनुसार, “जय लाखे” केवल मनोरञ्जन मात्र नभई नेपाली सांस्कृतिक पहिचान, इतिहास र परम्परालाई विश्वसामु प्रस्तुत गर्ने एक महत्वपूर्ण प्रयास हो। लन्डनमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम सांस्कृतिक गर्वको विषय हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *