बेलायतवासी गुल्मीली द्वारा क्यान्सर पीडितका लागि रु १५ लाखभन्दा बढी सहयोग हस्तान्तरण

रुपन्देही, सालझण्डी (असार २९, २०८३ / जुलाई १३, २०२६) — बेलायतमा बसोबास गर्ने गुल्मीलीहरूको पहलमा क्यान्सर पीडित श्री मुक्ति श्रीस मगरको उपचारका लागि संकलित रु १५,९५,९५०.१९ रकम आज रुपन्देहीको सैनामैना–सालझण्डीस्थित निवासमा चेकमार्फत हस्तान्तरण गरिएको छ।

गुल्मी जिल्लाको भार्से, दबुङका स्थायी बासिन्दा तथा हाल सालझण्डीमा बसोबास गर्दै आएका श्रीस मगर गत वर्ष दुबै मिर्गौला फेल भई ठूलो आर्थिक संकट झेल्दै उपचार गराएका थिए। पारिवारिक सम्पत्ति र आफन्तजनको सहयोगमा मिर्गौला प्रत्यारोपण सफल भए पनि त्यसको ऋण बोकेकै अवस्थामा हालै पुनः घाँटीको क्यान्सर देखिएपछि उनी थप संकटमा परेका छन्।

मिर्गौला प्रत्यारोपणपछि नेपालमै उपचार कठिन भएपछि हाल उनी भारतको नयाँदिल्लीस्थित “राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर” मा उपचाररत छन्। उपचार अत्यन्त खर्चिलो भएपछि परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा सहयोगको अपिल गरिएको थियो।

उक्त अपिलपछि गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष मञ्जु भण्डारी, महासचिव महलाल धिमिरे तथा संस्थापक अध्यक्ष एवं ट्रस्टी ओमप्रसाद थापा काउचाको पहलमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट उल्लेखनीय रकम संकलन गरिएको हो।

यस अभियानमा विशेषगरी भार्सेली समाज यूके, ग्वाघाली समाज यूके, एएफसी गुल्मीली थरभाई यूके तथा अन्य शुभेच्छुक, आफन्तजन र सहयोगीहरूको सक्रिय सहभागिता रहेको थियो।

संकलित रकम बिरामीका श्रीमती पुनम श्रीस मगरको बैंक खातामा जम्मा गरी आज औपचारिक रूपमा चेक हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि, भार्सेली समाज यूकेका आजीवन सदस्य दुर्गा राना मगर, भार्सेली समाज तराईका अध्यक्ष सुबेदार सोम भुजेल लगायतको उपस्थिति रहेको थियो।

बिरामीकी श्रीमती पुनम श्रीस मगरले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै उक्त रकमले उपचारमा महत्वपूर्ण सहयोग पुगेको बताएकी छन्। उनले विगत ११ महिनाअघि आफ्नै मिर्गौला दान गरेर श्रीमानको जीवन बचाएको स्मरण गर्दै अहिले पुनः यस्तो संकट आइपर्दा सहयोग पाउनु ठूलो राहत भएको बताइन्।

यस अभियानका संयोजक ओमप्रसाद थापा काउचाले बेलायतवासी गुल्मीली तथा अन्य सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता मानवीय कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे।

संकलित रकम विवरण:

  • गुल्मी जिल्ला समाज यूके — रु ४,५७,९४५.००
  • भार्सेली समाज यूके — रु ४,११,०५४.७५
  • ग्वाघाली समाज यूके — रु २,९६,१३२.००
  • मिना श्रीसमार्फत संकलित रकम — रु ४,२६,६२४.००

Leave a Reply

Your email address will not be published. Required fields are marked *