लेसोथोमा शान्तिपूर्ण निर्वाचन गराउन आग्रह

संयुक्त राष्ट्र संघ, २४ मङ्सिर । संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले अफ्रिकन राष्ट्र लेसोथोमा भएको राजनीतिक प्रगतिको मङ्गलबार स्वागत गर्नुभएको छ । मुनले लेसोथोमा सन् २०१५ को फेबु्रअरी २८ मा हुने भनिएको राष्ट्रव्यापी निर्वाचन शन्तिपूर्ण र विश्वसनीय गराउनको लागि आग्रह समेत गर्नुभएको छ ।
लेसोथोका नरेशले लेतसि तृतीयले हालै घोषणा गर्नुभएको सो निर्वाचनको विषयमा बानले उक्त टिप्पणी गर्नुभएको बानका प्रवक्ताद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
लेसोेथोमा प्रजातान्त्रिक मूल सिद्धान्तको अनुसरण भएकोमा महासचिव मुनले सन्तोष प्रकट गर्नुहुँदै यसले राष्ट्रको राजनीतिक स्थायित्व र सुरक्षा पुनः स्थापना गर्ने बताउनुभएको छ । लेसोथो सरकारको यस प्रयासमा संयुक्त राष्ट्र संघले सदैव सहयोग गर्ने पनि बानले बताउनुभएको छ ।
महासचिव मुनले लेसोथोको प्रमुख दल बासोथोका सवै राज नेताहरूलाई ‘मसेरु सहजीकरण घोषणा पत्र’ बमोजिम राजतन्त्रसँग सहकार्य गर्न र शान्तिपूर्ण तथा विश्वसनीय निर्वाचनका लागि सम्झौता गर्न समेत आग्रह गर्नुभएको छ ।
लेसोथोका तत्कालिन प्रधानमन्त्री थोमस थबानेले गत जुन महिनामा अविश्वासको मत छल्ने उद्देश्यले संसद भङ्ग गर्नु भएपछि त्यहाँ राजनीतिक अश्थिरता उत्पन्न भई झै–झगडाको वातावरण सृजना भएको थियो ।