धानभन्दा ढुटो महँगो !

रौतहट, ४ साउन । यहाँका कृषकले धानभन्दा ढुटो महँगो भएको गुनासो गरेका छन् । कृषकले गत वर्ष प्रतिक्विन्टल रु दुई हजार २०० भन्दामाथिको भाउ पाएको धानको मूल्य अहिले घट्दो अवस्थामा रहेको छ तर ढुटोको भाउ भने बढ्दो अवस्थामा रहेको बताएका छन् । धानको मूल्य सस्तो भए तापनि ढुटो भने महँगो मोलमा खरिद गर्नुपरेको कृषकको भनाइ छ ।
धानको ढुटो खरिद गर्दा प्रतिकिलो रु २७ पर्छ । धान बिक्री गर्दा किसानले प्रतिकिलो रु २२ पाउने गरेका छन् । धान सस्तिएपछि लागत मूल्य पनि उठाउन गाह्रो भएको चन्द्रपुर नगरपालिका–१२ का कृषक एकराज पोखरेलले बताउनुभयो । रौतहटको विभिन्न स्थानमा रहेका धान चामल उद्योगले सस्तो मूल्यमा धान खरिद गर्दै आएको र तीनै उद्योगले ढुटो भने आफैँले बिक्री मूल्य तोकी बिक्री वितरण गर्दै आएको कृषकले बताएका छन् । धान बिक्री गर्दा ज्यालासमेत नउठ्ने भएपछि व्यवहार चलाउन समस्या भएको कृषकको गुनासो छ ।