अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रवासी नेपालीलाई पहिलो सम्बोधन

सिड्नी । राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का उपाध्यक्ष तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ११ अप्रिल २०२६ मा प्रवासी नेपाली समुदायलाई आफ्नो पहिलो भर्चुअल सम्बोधन गर्नुभएको छ। कार्यक्रममा उहाँले सरकार गठनपछि हासिल भएका उपलब्धिहरू, जारी कार्यक्रमहरूको प्रगति तथा आगामी योजनाबारे विस्तृत जानकारी दिनुभयो।

सम्बोधनका क्रममा उहाँले “१०० दिन, १०० बुँदा” कार्यक्रम अन्तर्गतका प्राथमिकता र योजनाहरू सार्वजनिक गर्दै आगामी बजेटलाई “क्रान्तिकारी र ऐतिहासिक” हुने दाबी गर्नुभयो। सो बजेट जेठ १५, २०८३ मा प्रस्तुत गरिने जानकारी पनि उहाँले दिनुभयो। साथै, चुनावी घोषणापत्र अनुरूप समृद्ध र रूपान्तरणकारी नेपाल निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो।

गैरआवासीय नेपाली (NRN) सम्बन्धी विषयमा बोल्दै उहाँले मतदान अधिकार बाहेक दोहोरो नागरिकता दिने नीतिलाई समर्थन गर्नुभयो। यसले विदेशमा रहेका नेपालीसँग सम्बन्ध सुदृढ गर्ने, लगानीको वातावरण सिर्जना गर्ने र सम्पत्ति अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउँदै अनलाइन माध्यमबाट प्रभावकारी सेवा प्रवाह गर्ने योजना पनि उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा RSP महामन्त्री तथा गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य कबिन्द्र बुढाथोकीले देशभित्र उद्योग पुनर्जीवित गर्न विभिन्न समिति गठन भइरहेको जानकारी दिनुभयो। उहाँले गोरखकाली रबर उद्योग पुनः सञ्चालन लगायतका योजनामार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो। साथै, मन्त्रीहरूलाई आफ्नो कार्यमा केन्द्रित रहन आग्रह गर्दै छिट्टै जनताले सकारात्मक परिवर्तन महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रवास नेपाली सम्पर्क विभागका सचिव पदमराज पन्थीले फाल्गुन २१ को निर्वाचनमा अष्ट्रेलियाबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रवासी नेपालीको महत्वपूर्ण भूमिकालाई प्रशंसा गर्नुभयो। उहाँले भविष्यमा पनि ज्ञान, सीप र अनुभवमार्फत नेपालको समृद्धिमा योगदान जारी रहने विश्वास व्यक्त गर्नुभयो।

अमेरिका, युरोप र अष्ट्रेलियाका विभिन्न प्रतिनिधिहरूले कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए। लक्जेम्बर्गका जितु थापा, अमेरिकाका दीपक सुनार, भिक्टोरियाका गोपी थापा तथा पश्चिम अष्ट्रेलियाका राजेन्द्र श्रेष्ठले आ–आफ्ना धारणा राख्नुभयो।

जेन–जी युवा नेता हिमाल पोखरेलले प्रवासी युवाका अनुभव साझा गर्दै भाषा–संस्कृति संरक्षण, मानसिक दबाब, एक्लोपन, अध्ययन र कामबीच सन्तुलन जस्ता चुनौतीहरूबारे चर्चा गर्नुभयो। उहाँले संघर्षले नेतृत्व जन्माउने उल्लेख गर्दै हालै म्यारिल्यान्ड्समा भएको चक्कु आक्रमण घटनामा समुदायले देखाएको एकता उदाहरणीय भएको बताउनुभयो।

कार्यक्रममा विद्यार्थी प्रतिनिधि निशात फ्युयलले भिसा समस्या, राहदानी नवीकरणमा ढिलाइ तथा दूतावास सेवामा देखिएका कमजोरीबारे समाधानको माग गर्नुभयो भने युवा उद्यमी अवनी पौडेलले पनि समुदायका विभिन्न समस्याबारे धारणा राख्नुभयो।

यस अवसरमा चितवन समाजका संस्थापक बुद्धि डल्लाकोटी, एनआरएनए अभियन्ता सत्या कँडेल, साउथवेस्ट नेपाली समाजका अध्यक्ष चतुरभुज खरेल, समुदाय नेता चिरिङ शेर्पा तथा पूर्व विवेकशील साझा पार्टी अध्यक्ष रोशन भट्टराई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा परिचय तथा सुझाव संकलन गरिएको थियो, जसअन्तर्गत नयाँ सरकारका लागि सुझाव दिन अनलाइन पोर्टल सार्वजनिक गरिएको थियो। दोस्रो चरणमा अर्थमन्त्री, पार्टी प्रतिनिधि तथा अन्तर्राष्ट्रिय सहभागीहरूले भर्चुअल सम्बोधन गर्नुभयो भने तेस्रो चरणमा स्थानीय सहभागीहरूले प्रत्यक्ष धारणा राखेका थिए।

कार्यक्रम Prawas Nepali Samparka Bhibhag Australia Central Committee द्वारा आयोजना गरिएको थियो र PNSBA का प्रमुख डा. कृष्णकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भयो। स्वागत मन्तव्य NSW संयोजक इन्जिनियर दिपेन्द्र उप्रेतीले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सुर्य न्यौपानेले गर्नुभएको थियो। समग्र समन्वय पूर्व संयोजक तथा संरक्षक नागेन्द्र अधिकारीले गर्नुभएको थियो।

यो कार्यक्रम सिड्नीको म्यारिल्यान्ड्समा आयोजित नेपाली नयाँ वर्ष २०८३ को भेटघाट कार्यक्रम समेत थियो, जसमा अष्ट्रेलियास्थित नेपाली समुदाय, जेन–जी युवा, विभिन्न राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार तथा एशिया, युरोप, अमेरिका र खाडी मुलुकबाट भर्चुअल सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *