बेलायतको राजधानी लण्डन नजिक प्लमस्टिडमा आफ्नी श्रीमतीका साथ बस्दै आएका गुल्मी जिल्ला, दरवार देवीस्थान वडा–७ स्थायी घर भएका ३४ बर्षीय अनिलजंग थापाको असामयिक निधनले नेपाली समुदाय अझै शोकमा छ ।
कति सपना सांचेर मातृभूमि र आमाको काख छोडी सात समुद्रपार आइपुगेको एउटा कलकलाउंदो युवाले अकालमै मृत्युवरण गर्दा विक्षिप्त नहुने को होला । अझ साथमा रहेकी उस्तै कलकलाउंदी जीवनसंगिनीमा परेको पीडा हामी केवल कल्पनामात्र गर्न सक्छौं । यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीरशान्तिको कामना गर्दै परिवारमा शोकलाई सहन गर्ने क्षमता प्राप्त होस भनि यहा र परिवारजनमा पर्न गएको यो दुखमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
थापालाई अघिल्लो आइतबार बिहान २ बजे सामान्य छाती दुखाइ र खोकी लागेपछि साथीहरुले क्वीन एलिजावेथ हस्पिटलमा पुर्याएका थिए । साथीहरु गणेशजंग थापा र नारायण अधिकारीसित सामान्य कुराकानी गर्दै अस्पताल पुगेका थापा इमरजेन्सी कक्षमा समेत होसमै भएपनी, रगत परीक्षणपछि डाक्टरहरुले उपचार गर्दागर्दै थापा बेहोस भएको बताइएको छ । उनलाई चिकित्सकहरुले बिहान ५ बजेतिर सेन्ट थोमस हस्पिटल लैजान रिफर गरेका थिए । उनलाई एम्बुलेन्समा चिकित्सकहरुकै साथमा सेन्ट थोमस लगिएको थियो । मुटुको शल्यक्रिया सफल भएको केही समयपछि सम्म पनि मुटुले पुन काम शुरु नगरेपछि उनलाई बिहान ६ बजेतिर चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
यो समाचार तयारपार्दा सम्म थापाको शव अस्पतालमै छ । सम्भवतः चिकित्सकले मृत्यु प्रमाणपत्र दिएपछि थापाको शव नेपाल पठाउन प्रक्रिया अगाडि बढाइने पारिवारिक श्रोतले जनाएको छ । थापाको परिवारलाई सहयोग जुटाउन एवं थापाको शव नेपाल पठाउन गुल्मी जिल्ला समाज यूकेले पहल गरिरहेको समाजका अध्यक्ष अर्जुन गौतमले जनाएका छन् ।
यसअघि समाजका अध्यक्ष अर्जुन गौतम , बिनोद ज्ञवाली ,फडिन्द्र भट्टराई शिव भण्डारी समाजसेवीहरु दुर्गा पाण्डे,मोती भंडारी, चेतनाथ खनाल, दासु पाण्डे,खड्क रेसमी, लगायत दिवंगत थापाको जीवनसंगिनी भेट्न घरमै गएर सान्त्वना दिएका थिए ।मर्दा को मलामी हजुर पर्दाको जन्ती र मर्दा पर्दा नै सहयोग गर्नु पर्छ भन्ने मनन गर्दै समाजले शुरु गरेको आर्थिक संकलन अभियानमा सहयोग जारी रहेको जानकारी समाज का महासचिब राम गलामी ले बताउनु भयो !
थापाको शव नेपाल पठाउन गुल्मी जिल्ला समाज यूकेले सहयोग गर्ने






