नेपाल पपुवा न्यूगिनीसंग ८ विकेटले पराजित

आयरल्याण्ड, १ साउन । भारतमा अर्को वर्ष हुने विश्वकप ट्वेन्टी–२० क्रिकेट खेल्ने नेपालको संभावना निकै कमजोर बनेको छ । समूह चरणको पाँचौं खेलमा पपुवा न्यूगिनीसंग ८ विकेटको फराकिलो अन्तरले पराजित भएसंगै नेपालको भारत विश्वकप खेल्ने सम्भावना लगभग सकिएको हो । आयरल्याण्डको डब्लिनमा भएको खेलमा ९४ रनको झिनो चुनौती पपुवा न्यूगिनीले १४ ओभर १ बलमै २ विकेट गुमाएर पूरा गरेको हो । सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब व्याटिङ गर्दै १९ ओभर २ बलमा सबै विकेट गुमाएर ९३ रन मात्रै जोड्यो । ओपनिङ्ग जोडीको रुपमा आएका प्रदीप ऐरीले २८ बलमा २९ तथा सागर पुनले १२ बलमा १५ रन बनाएको इनिङ्गमा शरद भेषावकरले १५ बलमा ११ रन जोडे । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । तीन खेलाडी रन आउट भए । समूहको अन्तिम खेलमा नेपालले शनिबार दिउँसो जर्सीसंग खेल्नेछ ।