काठमाडौं २० असाेज । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भारतले नेपालविरुद्ध १३ दिनदेखि नाकाबन्दी गरेर दुःख दिएको बताएका छन्। निर्वाचित जनप्रतिनिधिको ९० प्रतिशत प्रतिनिधिले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै छिमेकीले लगाएको नाकाबन्दीले नेपालीको दैनिक जनजीवन कष्टकर बन्दै गएको उनले बताए। नेपाल प्रहरीले आयोजना गरेको मानव बेचविखन रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिहरुलाई उनले भूपरिवेष्ठित मुलुकले पाउने अन्तर्राष्ट्रिय पारवहन सुविधा उलंघन गर्दै भारतले लगाएको नाकाबन्दीबारे जानकारी लिएर आफ्नो देशलाई बताउन आग्रह गरे।
‘जनताका प्रतिनिधिले पारित गरेको संविधानको अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्दै स्वागत गर्नु पर्ने हो। तर तीनतिर सीमा जोडिएको छिमेकी मुलुक भारतले नाकाबन्दी गरेर दुःख दियो,’ उनले कार्यक्रममा भने। अवैध ओसारपसार र मानव बेचविखन नियन्त्रणका लागि दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्यपूर्वी एसियाका प्रहरीबीच औपचारिक सञ्जाल वा रणनीति बनाउन मंगलबारबाट आयोजित कार्यक्रम तीन दिन चल्नेछ। कार्यक्रममा विभिन्न आठ देशका सुरक्षा प्रतिनिधिहरूकाे संलग्नता छ ।
गृहमन्त्रीले गुहारे अन्तर्राष्ट्रिय समुदाय






