लण्डनमा मंगोलियन हार्टले आफ्ना चर्चित गीत प्रस्तुत गरेर पार्र्यो दर्शकलाई मन्त्रमुग्ध(फोटो फिचर)

लन्डन । चर्चित गायक राजु लामा र उनको ब्याण्ड ‘मंगोलियन हार्ट’को बहुप्रतीक्षित कन्सर्ट ‘मंगोलियन हार्ट लाइभ इन द यूके’ लन्डनमा भव्य रूपमा सम्पन्न भएको छ ।

लन्डन ह्यारोस्थित ह्यारो लिजर सेन्टरमा १३ डिसेम्बर साँझ आयोजना गरिएको कन्सर्टमा बेलायतभरबाट आएका नेपाली संगीतप्रेमी दर्शक–श्रोताको उल्लेख्य उपस्थिति रहेको थियो। गेट खुल्ने समयदेखि नै हल दर्शकले भरिएको थियो भने राजु लामाले राति ८ बजेदेखि ११ बजेसम्म लगातार आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए ।राजु लामाको “मेरो नेपाल’ गितबाट भएको इन्ट्रिले माहोल झनै गर्माएको थियो । गडगढाहट ताली र होहल्लाको बिचबाट राष्ट्रिय झण्डासहित स्टेजमा प्रबेस गरेका गायक लामाले, जुन झै मुहार, तिमीलाइ देखेर, हल्ला चलेछ, बादल पारीको देशबाट,मेरो नेपाल, हुदै सायद तिम्रो बाटो सम्म आउदा दर्शहरुले भरपुर मनोरज्नन लिएका थिए । दर्जनौं हिट गीतमा दर्शक झुम्मिए ।

लाइभ ब्याण्डसहितको प्रस्तुतिले कन्सर्ट हललाई पूर्ण रूपमा संगीतमा डुबाएको थियो । गायक राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन लगायत छन्।

यसअघि पटक–पटक बेलायतमा सोलो प्रस्तुति दिँदै आएका राजु लामा पहिलोपटक आफ्नो सम्पूर्ण ब्याण्डसहित प्रस्तुत भएका हुन् । मंगोलियन हार्ट ब्याण्डको करिब ३३ वर्षे यात्रामा बेलायतमा गरिएको यो पहिलो पूर्ण ब्याण्ड कन्सर्ट भएकाले कार्यक्रम विशेष र ऐतिहासिक बनेको आयोजकको भनाइ छ।निरन्तर एउटै उर्जा र दर्शहरुको क्रेजमा टिकिरहने मधुर मुस्कानमा जादु भएको गाएक लामाले लण्डनमा फेरी पनि नया पुस्ताका आफ्ना फ्यानहरुलाई बर्षौ वर्षा सम्म नमेटिने अटुट सम्झनाका छापहरु छोड्न सफल भए ।

जिटी बास इन्टरटेनमेन्ट र सहीसर्च डटकमको संयुक्त आयोजनामा सम्पन्न कन्सर्टका लागि कलाकार टोली १० डिसेम्बरमा लन्डन आइपुगेको थियो ।


दिपक थापा मैथाने मगर र स्वरूपाले संचालन गरेको कार्यक्रममा आयोजक जिटी बास इन्टरटेनमेन्टका निर्देशक रोज लामा र सहीसर्च डटकमका निर्देशक थमु वाइबाका अनुसार बेलायतस्थित नेपाली दर्शक–श्रोताका लागि विशुद्ध नेपाली लाइभ संगीत पस्कने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कन्सर्टमा प्रयोग गरिएको साउण्ड र लाइटिङ प्रणाली उच्चस्तरीय रहेको आयोजक पक्षले जनाएको छ । अर्का निर्देशक विशाल मोक्तानले ह्यारो लिजर सेन्टरमै यसअघिका कार्यक्रमभन्दा फरक र परिष्कृत साउण्ड सिस्टम प्रयोग गरिएको बताए

लाइभ कन्सर्ट समापनपछि सोही भेन्यूमा डिजे काजीको प्रस्तुति सहितको आफ्टर पार्टी पनि सम्पन्न भएको थियो । राति ११ बजेदेखि बिहान ४ बजेसम्म चलेको आफ्टर पार्टीमा विशेषगरी ‘योङ क्राउड’को बाक्लो उपस्थिति देखिएको थियो। कन्सर्ट टिकट भएका दर्शकका लागि आफ्टर पार्टी निःशुल्क राखिएको थियो ।

कार्यक्रम समग्रमा अत्यन्त सफल र स्मरणीय बनेको भन्दै आयोजकले कलाकार, प्राविधिक टोली तथा उपस्थित सम्पूर्ण दर्शक–श्रोतालाई धन्यवाद व्यक्त गरेका छन् ।