अष्ट्रेलियामा राधिका दासी सँग आध्यात्मिक महायज्ञ

सिड्नी । आगामी डिसेम्बर   १२, १३ र १४ गते  धर्म जागरण महा सत्सङ्ग नामक विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ। श्री योगी नरहरिनाथ तथा आदित्यनाथ प्रतिष्ठान अष्ट्रेलियाले आयोजना गर्न लागेको यस सत्सङ्गमा अन्तर्राष्ट्रिय कथावाचन गर्ने राधिकादेवी दासी सिड्नी आउने कार्यक्रम रहेको जानकारी आयोजकहरूले दिएका छन्। कार्यक्रमको अध्यक्षता नारायण शास्त्री पण्डेजीले गर्नुहुनेछ भने स्थल ग्रान्ड प्यालेस फङ्सन सेन्टर, परामाट्टा रोड, ओबर्न, सिड्नी तोकिएको छ।यस महा सत्सङ्गमा नेपालबाट गुरु डा. भोलानाथ योगी पनि विशेष अतिथि रूपमा सहभागी हुनुभएको छ। आयोजक पक्षले नाथ योग दर्शन, सनातन धर्म संस्कृति र प्रवासी नेपाली समाजमा आध्यात्मिक चेतना जगाउने उद्देश्य बोकेको स्पष्ट गरेको छ। राधिकादेवी दासीको कथावाचन तथा भक्तिपूर्ण प्रस्तुतीले नेपाली समुदायमा धार्मिक प्रेरणा, सांस्कृतिक पहिचान र एकताको भावना थप मजबुत हुने अपेक्षा लिइएको छ।

कार्यक्रमस्थलमा तयारी तीव्ररूपमा भइरहेको जनाउँदै आयोजकले सिड्नीमा यस स्तरको धर्म जागरण कार्यक्रम पहिलोपटक आयोजना हुन लागिरहेको जानकारी दिएका छन्। सनातन संस्कृति, आत्मचेतना, धर्मपरायण जीवनशैली र नेपाली आत्मपहिचानको संरक्षणका लागि प्रवास भूमिमा यस्तो महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।