लन्डन । बेलायतमा नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तलाइ स्वागत सम्मान गरेको छ । नेपाल नेत्र ज्योति संघ बेलायत शाखाले बेलायत भ्रमणमा आएका संघका केन्द्रीय अध्यक्ष प्रा.डा.पन्तको सम्मानमा लन्डनमा एक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल नेत्र ज्योति संघ बेलायत शाखाका अध्यक्ष समाज सेवी बालजङ्ग अर्यालको अध्यक्षतामा भेटघाट सम्मान कार्यक्रममा केन्द्रीय अध्यक्ष पन्तले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए । साथै उनले संघको परोपकारी कामको बारे जानकारी गराएका थिए । उनले बेलायतमा समेत संघको गठन गरेर अभियान फराकिलो बनाएकोमा धन्यवाद दिए ।
बेलायत शाखाले गठन भएको दुई वर्षमा संघसँग समन्वय राखेर संस्थागत रूपमा काम गर्न थालेकोमा अध्यक्ष पन्तले खुसी व्यक्त गरे ।
कार्यक्रममा बेलायत शाखाका अध्यक्ष बालजङ्ग अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन शाखाका सचिव केशब भण्डारी गरेका थिए।
अध्यक्ष अर्यालले नेत्रज्योती संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तको सम्मान गर्दै नेपालका लागि आँखा स्वास्थ्यको क्षेत्रमा सामुदायिक कार्यक्रम छिट्टै ल्याउन आफुहरु जुटेको बताए । उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ , सचिव केशव भण्डारी, कोषाध्यक्ष महलाल घिमिरे र सदस्यहरू तारा भट्टराई, शिव भण्डारी र आशिर्वाद चन्द लगायतले आफ्ना धारणा राखेका थिए ।
आगामी दिनमा बेलायत शाखाले राष्ट्रिय स्तरको निःशुल्क आँखा परिक्षण शिविर संचालन कार्यक्रम गर्ने तयारी गर्ने बारे छलफल गरिएको कोषाध्यक्ष महलाल घिमिरेले लण्डन नेपाल न्युज लाइ बताए।
नेत्रज्योती संघ केन्द्रका महासचिव भरत बहादुर चन्दको प्रमुख आतिथ्यमा संघको बेलायत शाखा २०२३ नोभेम्बरमा गठन भएको थियो। 









