लन्डन- गुल्मी जिल्ला समाज युकेले हरेक वर्ष बेलायतमा आयोजना गर्दै आइरहेको बार्षिक समर भेटघाट तथा बार्बेक्यू कार्यक्रम यस पटक आगामी अगस्ट ७ तारिक आइतबार अल्डरसटको कनट स्कुल प्रांगणमा आयोजना हुने भएको छ । उक्त बृहत भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी सम्प्रेषण गर्दै समाजले अधिकतम सहभागिताका लागि बेलायतमा बस्ने सम्पूर्ण गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुमा आव्हान गरेको छ ।
समाजका सचिव तथा कार्यक्रम संयोजक वीर बलालका अनुसार कार्यक्रममा साँस्कृतिक तथा मनोरन्जनात्मक बिशिष्टता पस्किने गरी तयारी गरिएको छ । साँस्कृतिक मनोरञ्जनमा नेपालबाट आएका चर्चित कलाकारहरुको लोक प्रस्तुतिसँगै युरोपमै प्रसिद्धि कमाएको गुल्मेली नौमती बाजा, गुल्मेली झ्याउरे र भजन चुट्का जस्ता प्रस्तुतिले सदा झैँ बिशेष रौनक सृजना गर्ने आयोजकको तयारी रहेको छ ।
स्थानीय कलाकारहरुको नाचगानले समेत कार्यक्रममा थप मनोरञ्जन दिने तयारी रहेको साँस्कृतिक सचिव मुना सापकोटाले जनाएकी छन् । खेलकुदतर्फ भलिबलमा खारिएका टिमको प्रतिस्पर्धात्मक प्रतियोगिता लगायत बच्चाहरुको लागि समेत विविध खेलकुद तथा मनोरञ्जनको व्यवस्था कार्यक्रममा गरिने छ ।
बार्बेक्यू तथा खानपानको जिम्मेवारी यसपटक अल्डरसटकै भेटघाट रेस्टुरेन्टले लिएको छ । दिनको १२ बजेदेखि साँझ ८ बजे सम्म चल्ने खुला चौरको गुल्मेली मेलामा कार्यक्रमको औपचारिकतामा न्युनतम समय खर्चिदै मनोरञ्जन तर्फ नै कार्यक्रम तालिकाको ध्यान आकृष्ट गरिएको जानकारी महासचिव शिव भण्डारीले तयारी बैठकमा दिएका छन् ।
नेपालमा गुल्मी जिल्लामा मात्रै नभएर देशभरी नै परोपकारी कार्य गरेर नाम कमाएको बेलायतका गुल्मेलीहरुको यो संस्थाले बेलायतमा आयोजना गर्ने बार्षिक भेटघाट कार्यक्रम उपस्थिति, मनोरञ्जन तथा खानपान व्यवस्थापनको हिसाबले निकै सफल र चर्चित मानिन्छ । कार्यक्रममा हजार भन्दा बढी मान्छे सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बयस्कको लागि १३ पाउण्ड शुल्क तोकिएको छ । केटाकेटीको हकमा ५ बर्ष मुनिको लागि नि:शुल्क र ५ देखि १२ बर्ष सम्मकाले ८ पाउण्ड तिर्ने छन ।
समाजका अध्यक्ष राम गलामीले बेलायतमा बसोवास गर्ने गुल्मेली मात्र नभएर सम्पूर्ण नेपालीहरुलाई गुल्मेलीहरुले आयोजना गर्ने यो विशेष मेलामा सहभागी हुन अनुरोध गरेका छन ।
‘मनोरञ्जनका हिसाबले यो एउटा छुट्टै फेमिली आउटिङ बन्न सक्छ,’ अध्यक्ष गलामीले भनेका छन । समाजले कार्यक्रमको बचत रकम परोपकारी कार्यमै खर्चिने छ ।
यसैबीच बेलायतका बर्मिन्घम, नोटिन्घम, साउथ ईस्ट लन्डन लगायतका विभिन्न सहरहरु बाट कार्यक्रममा सहभागी हुन कोच बुक गरेर आउने तयारी भइसकेको जानकारी कार्यसमितिका विष्णु ज्ञवालीले दिएका छन् ।







