काठमाडौं, २९ असार । अर्थमन्त्री डा. रामशरण महतले आज मंगलबार बजेट सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले सार्वजनिक गर्ने बजेट ८ खर्ब २५ अर्बसम्मको हुनेछ । बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माणमा यो वर्ष ९० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान राष्ट्रिय योजना आयोगले गरेको थियो।
कर्मचारीको तलब वृद्धि हुने छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाएर अधिकतम डेढ करोडसम्म पुग्ने स्रोतले उल्लेख गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा राखेका छन् । वृद्धभत्ता दोब्बर बढाएर हजार रुपैयाँ पुग्ने भएको छ। दलित तथा पिछडिएका वर्गका बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम ल्याइएको छ। स्थानीय निकाय निर्वाचनका लागि पनि बजेट विनियोजन गरिने भएको छ। करका दरमा खासै परिवर्तन हुने छैन तर दायरा बढाउने कार्यक्रम बजेटमा आउने छ। आय करको सीमा वृद्धि हुनेछ। बजेटको स्रोतमा चार खर्ब ७८ अर्ब राजस्वबाट आउनेछ भने वैदेशिक अनुदान तथा ऋणबाट दुई खर्ब एवं आन्तरिक ऋणतर्फ ८५ अर्ब रुपैयाँ जुटाइनेछ । अपुग रकम चालू वर्षको बचत रकमबाट व्यहोरिनेछ।
आज बजेट सार्वजनिक हुँदै






