लन्डन -अमेरिकाको दुइ साता लामो भ्रमण सकेर सोमबार बेलायत आइ पुगेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा अभियन्ता कुलमान घिसिङलाई लन्डनमा भव्य स्वागत गरिएको छ ।
उनलाई हिथ्रो विमानस्थलमा एनआरएनए युके, तमु धिं युके लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए।
बेलायतमा एनआरएनए युकेका दुवै समूहले घिसिङसंग छुट्टाछुट्टै अन्तरक्रिया गर्न लागेका छन्। राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए युकेले १५ अगष्ट दिउँसो प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा अन्तरक्रिया राखेको छ भने सोही दिन साँझ प्रेम गाहा मगरले नेतृत्व गरेको एनआरएनए युकेले अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम राखेको छ । उनलाई सोही अवसरमा नागरिक अभिनन्दन पनि गरिने छ । उनी २४ अगष्टमा तमु धिं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशिष्ट पाहुनाको रुपमा सहभागी हुनेछन् । त्यस्तै उनले स्कटल्याण्डको भ्रमण गर्नुका साथै विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्। उनले युरोपका केही मुलुकहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
यस अघि अमेरिकामा रहंदा घिसिङले टेक्सास, मिशिगन, वाशिंगटन डिसी लगायतका राज्यमा विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी भै प्रवासी नेपाली समुदायसंग अन्तरक्रिया गरेका थिए। न्युयोर्कमा उनी लगायत अन्य अभियन्ताहरुलाई हामी नेपाली ग्लोबल संस्थाले ‘ग्लोबल हिरो अवार्ड’ ले सम्मान गरेको थियो। उनले न्युयोर्कमै अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको १८ औं सम्मेलनलाई सम्बोधन गरेका थिए। त्यस्तै उनले बोस्टनमा नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुसंग पनि छलफल गरेका थिए।
जम्मा चार महिना मात्रै कार्यकाल बाँकी रहेका घिसिङलाई नेपाल सरकारले गत चैत्र महिनामा उनको पदबाट बर्खास्त गरे पछि उनले केही समय काठमाडौँमै भेटघाटमा बिताएका थिए। त्यसपछि उनले गत महिना बहराइनबाट ‘उज्यालो नेपाल अभियान’ सुरु गर्ने घोषणा गरेका थिए।
घिसिङले नेपालमा लिडरसीपले आशा जगाउन नसकेको बताउँदै देशमा आशा र आत्मविश्वास जगाउने खाले लिडरसीपको आवश्यकता रहेको औँल्याए। उनले आफ्नो अभियानलाई साथ दिनका लागि आह्वानसमेत गरेका छन्।






