लन्डन । बेलायतको गुल्मेली भेला अगष्ट ३ आइतबार हुने भएको छ ।
समाजले बिहिबार जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष रुद्र थापा र संचालन महासचिव मोहन घिमिरेले गरेका थिए ।
पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ
अध्यक्ष रूद्र थापाले दिएका थिए ।
लन्डन फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स एण्ड लिजरको मैदानमा गुल्मी जिल्ला समाज यूकेले १७ औं वार्षिक भेला गर्ने भएको हो ।

बेलायतभरबाट करिब १५ सय गुल्मेलीको सहभागिता अपेक्षा गरिएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुले लाइभ सांगीतिक प्रस्तुति गर्नेछन् ।
कार्यक्रममा गुल्मेली लोकदोहोरी गायक अर्जुन कुंवर पित्री बुडो,लोकप्रिय गायिका रचना रिमाल, गायिकाहरु रेनुका भट्टराई घिमिरे, सीता परियार र सृष्टि पुनका साथै डान्सर अस्मिता पुरीले पनि आफ्नो प्रस्तुति गर्ने भएका छन् ।
प्रथम नौमति बाजा गुल्मी यूके समूहको प्रस्तुतिका साथै विविध मौलिक गुल्मेली सांस्कृतिक कार्यक्रमहरु भेलाका थप आकर्षण रहनेछन् ।
भेलामा प्रमुख अतिथिका रुपमा बेलायतका लागि नेपाली दुताबासका उपनियोग प्रमुख विपिन दुवाडी रहेका छन्
कार्यक्रममा विशेष अतिथिका रुपमा गुल्मी जिल्लाका स्थानीय पालिका प्रमुखहरुलाई निम्त्याइएको समाजका महासचिव महलाल घिमिरेले लण्डन नेपाल न्युजलाइ जानकारी दिए ।
भेलाका प्रमुख संयोजक क्याप्टेन ताम ढेगाले कार्यक्रमको तयारीका कामहरु भइरहेको जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन लन्डन र आसपासबाहेक मिडल्यान्ड, वेल्स स्कटल्यान्डबाट समेत सयौं गुल्मेलीहरु आउने छन्।
समाजका अध्यक्ष रुद्र थापाले गुल्मी जिल्ला समाजको आयोजना रहेपनि भेलामा बेलायतवासी सबै नेपालीलाई स्वागत गर्न आतुर रहेको बताए ।
‘यो बेलायतका विभिन्न क्षेत्रमा छरिएर रहेका हामी गुल्मेलीहरुको वार्षिक भेटघाट मात्रै होइन, यहाँका अरु नेपालीहरुको पनि सुखद जमघटको अवसर बनोस् भन्ने हाम्रो चाहना छ’, अध्यक्ष थापा भन्छन्, ‘कार्यक्रममा सहभागी हुन र गुल्मी जिल्लामा प्रचलित विविध सांस्कृतिक प्रस्तुतिहरुमा मनोरञ्जन लिन म बेलायतका सबै नेपालीलाई आव्हान गर्दछु।’
कार्यक्रममा सहभागीहरुलाई राराका प्रमुख प्रताप रायमाझीको क्याटरिङ र व्यवस्थापनमा लाइभ स्टलमा सेलरोटी जलेवी, चटपटेका साथै बारबीक्यू सहित तीन कोर्स खाना रहेको छ ।

कार्यक्रममा सहभागिताको लागि टिकट शुल्क २० पाउण्ड छ।कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ ।






