लण्डन । मगर संघ यूकेको आयोजनामा यही जुन १४ तारिखका दिन बेलायतमा आयोजना हुने नेपाली ओपन कन्सर्टमा नेपालबाट चर्चित कलाकारहरू खेम सेन्चुरी र अन्जु पन्तलगायतका कलाकारहरू बेलायत आउने भएका छन् ।
मगर संघ युकेले सो कन्सर्टका बारेमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
कार्यक्रममा भ्वाइस अफ नेपाली सिजन ६ का कोच खेम सेन्चुरी र सदाबहार गायिका अन्जु पन्तका साथै भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडाले पनि प्रस्तुति दिनेछन् ।
‘म्यूजिक फर युनिटी’ श्लोगानका साथ बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म हुने सो कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिकहरू सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
कार्यक्रममा नेपालबाट आएका अन्य कलाकारहरूका साथै बेलायतका स्थानिय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ युकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।
फार्नब्रो रग्बी फुटबल क्लबमा हुने सो कार्यक्रममा भाग लिनका लागि १२ देखि १७ वर्षसम्मका बालबालिका र ६७ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि अग्रिम टिकट खरिद गरे जनही २० पाउण्ड र सोही दिन किन्दा २५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ । १७ वर्षमाथि ६७ वर्षसम्मका लागि अग्रिम टिकट किन्दा जनही २५ पाउण्ड र सोही दिन खरिद गर्दा ३० पाउण्ड टिकट शुल्क तोकिएको छ । १२ वर्ष मुनी बालबालिकाका लागि प्रवेश निशुल्क राखिएको छ ।
बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहनुहुनेछ ।
कार्यक्रममा करिब ५ हजार दर्शकहरू सहभागी हुने अपेक्षा आयोजकले राखेका छन् ।
सन् २००२ सालमा स्थापना भएको मगर संघ युकेले बेलायतमा नेपाली गीत, संगीत, कला, सँस्कृतिको जगेर्ना र प्रबर्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्टको आयोजना गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।
सो कार्यक्रमलाई सफल पार्नका लागि मगर संघ युकेले आफ्ना १२ वटै शाखाहरूलाई परिचालन गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रममा बेलायतको विभिन्न वेल्स, क्याट्रिक, मिडल्याण्डलगायतका स्थानहरूबाट सहभागी हुने बताइएको छ ।
कार्यक्रममा मगर महिला संघ युकेले राफल ड्र सन्चालन गर्नेछ । राफल ड्रमा २०० पाउण्डदेखि ७०० पाउण्डसम्मको उपहार राखिएका छन् ।
पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले जवाफ दिएका थिए ।
पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुन र संचालन महासचिव गोमानसिंह पुनले गरेका थिए ।






