यसवर्षको उत्कृष्ट रेडियो पत्रकार गुल्मीकी खड्का

रेडियो पत्रकारीतामा सर्वाधिक राशिको पुरस्कार प्राप्त

काठमाण्डौ २१ मंसिर । पत्रकार गगनशिला खड्का नेपाली रेडियो क्षेत्रकै सर्वाधिक राशिको रेडियो कान्तिपुर पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । देशभरीका १ सय ५० रेडियोको प्रतिस्पर्धामा उहाँ उत्कृष्ट हुनुभएको हो ।
रेडियो कान्तिपुरको १६ आँै वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजीत एक भव्य समारोहमा कान्तिपुर मिडीया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले ५० हजार राशिको पुरस्कार हस्तान्तरण गर्नुभयो । खड्कालाई पुरस्कार सहित दोसल्ला, ट्रफि र सम्मानपत्रले सम्मानित गरीएको थियो ।
देशभरका १ सय ५० रेडियोको प्रतिस्पर्धामा खड्काले एण्टेना फाउण्डेसनका लागि पठाएको समाचार निर्णायक मण्डलले उत्कृष्ट घोषणा गरेको थियो । समारोहमा बोल्दै कान्तिपुर मिडीया ग्रुपका अध्यक्ष सिरोहियाले विगत यसपटकदेखि स्वतन्त्र जुरीको गठन गरी प्रतिस्पर्धाका आधारमा छनौट गरीएको उत्कृष्ट रेडियो पत्रकारमा महिला पत्रकार खड्का पुरस्कृत हुनुभएकोमा बधाई दिनुभएको थियो । अध्यक्ष सिरोहिया र सम्पादक शर्माले खड्कालाई प्रगतिको शुभकामना समेत दिनुभयो । यसअघिका वर्षहरुमा यो पुरस्कार बरीष्ठ रेडियो पत्रकारहरु प्रविण गिरी, कृष्णा ताम्राकार र भैरव रीसालले पाईसकेकोले खड्का चौँथोपटक सम्मानित भएको रेडियो कान्तिपुरले जनाएको छ ।
२४ वर्षिया खड्का गुल्मीमा बसेर पत्रकारीता गर्ने पहिलो महिला पत्रकार हुनुहुन्छ । राजधानिका नयाँपत्रिका, रेडियो नेपाल, सगरमाथा टिभी, र मोफसलको बुटवलटुडे लगायतका विभीन्न सञ्चारमाध्यममा स्थानीय सम्बाददाताको काम गर्ने खड्का सञ्चारीका समुह गुल्मीको अध्यक्ष समेत हुनुहुन्छ । खड्काले यसअघि नेपाल सरकार शिक्षा मन्त्रालयको शिक्षा पत्रकारीता लेखनबृत्ति पुरस्कार, नेपाल पत्रकार महासंघ गुल्मीको क्रियाशिल पत्रकारीता पुरस्कार, सुसासन अभियान गुल्मीकासुशासन अभिबृद्धि र भ्रष्टाचार न्यूनिकरण पुरस्कार २०७०, महिला विकास कार्यालय गुल्मीको उत्कृष्ट पत्रकारीता पुरस्कार, घरेलु तथा साना उद्योग विकास समति गुल्मीको उद्योग पत्रकारीता पुरस्कार प्राप्त गर्नुभएको छ । यसबाहेक उहाँले एण्टेना फाउण्डेसन नेपालका लेखनबृत्ति लगायत विभीन्न लेखनबृत्ति समेत प्राप्त गर्नुभएको छ ।
पुरस्कार ग्रहण गर्दै खड्काले आफुलाई पुरस्कारले थप जिम्मेवार महसुस गराएकोले आगामी दिनमा समाजमा सकारात्मक कामको प्रचार र नकारात्मक कामको अन्त्यका लागि सँधै कलम चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।