लन्डन ।लण्डनमा आफ्नै घर बनाउनको लागि तमुधिं लन्डन इकाइले १८ बर्ष पछि आयोजित च्यारिटी कार्यक्रम बाट एकै रातमा ३३ हजार पाउण्डको प्रतिवद्दता आईसकेको इकाइका अध्यक्ष भरत गुरुङले बताए , उनले परियोजनालाई अझै सघाउन इकाईले अपिल गरेको बताए !
उत्साहजनक सहभागिता रहेको कार्यक्रममा पुणित कार्यको प्रशंशा गरिएको थियो
लन्डन ग्रीनफोर्ड टाउन हलमा शनिबार सांझ कार्यक्रम भएको हो । च्यारिटी इभेन्टमा कयौं संघसंस्था र व्यक्तिले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले इकाईसंग तमुधिं यूकेको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नै घर लिने इकाइको महत्वकांक्षी योजनामा साथ सहयोग रहने बताए । तमुधिं यूकेले हाउजिङ प्रोजेक्टका लागि एकहजार एक पाउण्ड दिने घोषणा पनि उनले गरे ।
शुभकामना मन्तव्यका क्रममा इकाई प्रमुख सल्लाहकार काउन्सिलर लक्ष गुरुङले सबैलाई दिल खोलेर दान गर्न अपिल गरे ।
काउन्सिलर गुरुङले राजनीति घुसेर समाज विभाजित भएको अवस्थामा कार्यक्रममा जनताभन्दा नेता बढी देखिएको गुनासो गरे । उनले सामाजिक र राजनीतिक दुई पाटो अलग हुन आवश्यक रहेको पनि औंल्याए ।
एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेनले नेपाली जनसंख्या बढिरहेका बेला इकाईको हाउजिङ प्रोजेक्ट अत्यावश्यक भएको बताए । सेनले पनि एक हजार पाउण्ड सहयोगको प्रतिवद्धता गरेका छन् । सेनले आउंदो मे ३ देखि ५ सम्म हुन लागेको एनआरएनए एकता अधिवेशनमा सहभागिता लागि सबैमा अपिल पनि गरे ।
इकाइ अध्यक्ष भरत गुरुङले दाताहरु र सहभागी सबैप्रति आभार व्यक्त गरे । तमुधिं लन्डन इकाई स्थापनाको १८ वर्ष पुग्दा आफ्नै कार्यकालमा हाउजिङ परियोजना परिकल्पना गरिएको उल्लेख गर्दै उनले पहिलो डोनरका रुपमा कमिटीलाई एकहजार पाउण्ड प्रदान गरे ।
तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले घर पहिलो प्राथमिकता भएकाले इकाईको परियोजना सुनेर आफू हर्षित भएको बताए । उनले परियोजना सफल बनाउन सबैले साथ दिनु कर्तव्य भएको पनि उल्लेख गरे । उनले परियोजनाका लागि एकहजार एकसय पाउण्ड सहयोग दिने घोषणा पनि गरे ।
संस्थापक अध्यक्ष गुरुङले एनआरएनए विभाजन हुंदा सबैमा अन्यौल देखिएकाले एकतामा जोड दिए ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यसमितिलाई सम्मान गरेकामा धन्यवाद दिंदै इकाईप्रति ऋणी भएको बताए । उनले संघको तर्फबाट प्रोजेक्टका लागि एकहजार पाउण्ड दिने घोषणा गरे ।
उनले तमुधिं यूकेभित्रको एकता उदाहरणीय रहेको बताउंदै अब बेलायतको उक्त अग्रणी संस्थाले पुस्तान्तरणमा पनि विचार गर्नुपर्ने बताए ।
अध्यक्ष गाहामगरले आफ्नो उत्तराधिकारी नभएकाले संघमा फेरि नेतृत्व लिनु परेको प्रष्टयाउंदै वंशजको नेपाली नागरिकता कायमै राख्न आफ्नो कार्यसमिति सशक्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । भावी पुस्तालाई मातृभूमिप्रति जोडिराख्न पनि वंशजको नागरिकता अत्यावश्यक भएको उनको भनाइ थियो ।
तमुधिं लन्डन इकाईका पूर्व अध्यक्ष एवं ट्रष्टी डेभिड गुरुङले आफ्नै घर बिना तमुधिं लन्डनको अस्तित्व पनि नहुने भएकाले यो प्रोजेक्ट जरुरी भएको बताए । ‘पहिला हामीले सबैलाई दियौं, अब तपाईंहरुको सहयोग लिने बेला आएको छ’, उनले भने, ‘यो त शुरुवात मात्रै हो । योजना पूर्ण हुन यसलाई निरन्तरता दिन आवश्यक छ ।’ गुरुङले सबैसंग हातेमालो गरेर अगाडि बढ्न पनि सुझाए ।

स्वागत मन्तव्यका क्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक ईश्वर गुरुङले कार्यक्रम उद्देश्यबारे प्रकाश पार्दै सहभागी सबैप्रति आभार व्यक्त गरे ।
इकाई महासचिव विशाल गुरुङ (रक) ले सञ्चालन गरेको उक्त कार्यक्रममा काउन्सिलर विष्णु गुरुङ, तमुधिं लन्डन इकाइ आमा अध्यक्ष देवकला गुरुङ लगायतले पनि शुभकामना दिएका थिए ।
तमुधिं यूके महासचिव डा. विशाल गुरुङले परियोजनाका लागि आमा समूहको तर्फबाट ५११ पाउण्डसहित संस्था र व्यक्तिगत गरि कुल ३ हजार ५९ पाउण्ड सहयोग गरिएको बताए । सहारा यूके अध्यक्ष कृष्ण घोताने गुरुङले संस्थाको तर्फबाट ८०० पाउण्ड नगद प्रदान गरे । 
हाउजिङ कमिटीमा खुशीमान गुरुङ, ले. रि नारायणप्रसाद गुरुङ, क्या. रि. प्रेमबहादुर गुरुङ, दिलमाया गुरुङ, काउन्सिलर लक्ष गुरुङ, देवकला गुरुङ, इश्वर गुरुङ, भरत गुरुङ र विष्णु गुरुङ छन् । हाउजिङ कमिटीका तर्फबाट ले. रि नारायणप्रसाद गुरुङ, क्या. रि. प्रेमबहादुर गुरुङ, काउन्सिलर लक्ष गुरुङ, दिलमाया गुरुङले दाताहरुको नाम र रकम पढेर सुनाएका थिए ।
इकाईले तमुधिं यूके १३ औं कार्यसमितिका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ लगायत कार्यसमिति र एनआरएनए यूके नवनिर्वाचित टिमलाई सम्मान गरेको थियो । इकाईले कलाकारहरु र दाताहरुलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु हरिमाया गुरुङ, तिलक गुरुङ, शितल गुरुङ, विमला गुरुङ लगायतले पनि आफ्नो गायन प्रस्तुत गरे ।वृषा गुरुङले ‘गैरी खेतको शीरै हान्यो…’ गीतमा आकर्षक नृत्य देखाइन् ।
इकाईको आमा समूहले सामूहिक कौडा नृत्य पनि प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुले तमुधिं लन्डन इकाईको आफ्नो नयां स्वागत गीत (महासचिव विशाल ‘रक’ गुरुङको संकलनमा तयार) समेत विमोचन गरे।
तमुधिं लन्डन इकाई विगत देखि वर्तमान
कार्यक्रममा ‘तमुधिं लन्डन इकाई विगत देखि वर्तमान’ नामक वृत्तचित्र पनि देखाइएको थियो । इकाईले वर्षेनी ल्होसारदेखि दशैंतिहार, तीज जस्ता कार्यक्रम मनाउंदै आएको छ । संस्थाले तमुधिं यूकेको मुख्य इभेन्टहरु गोर्खा कप, नेपाली मेलामा सहयोग र सक्रिय सहभागिता, नेपालमा प्राकृतिक विपत्तिहरुमा आर्थिक सहयोग एवं अन्य परोपकारी कार्य पनि गर्दै आएको छ । सन् २००७ सेप्टेम्बर ३० तारिख स्थापना भएको हो इकाई । 





















