काठमाडौं- आन्दोलनरत मधेसी नेता भारत भ्रमणमा गएपछि संविधान संशोधन नै अलपत्र परेको छ ।
कानुनमन्त्री अग्नि खरेलले मोर्चाका नेताहरु नयाँदिल्लीबाट नफर्केसम्म संविधानको पहिलो संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत नहुने जानकारी दिए । मोर्चामा आबद्द नेता बुधबार दिल्लीबाट फर्किएपछि संसद् बैठक बोलाउने नेताहरुबीच भएको समझदारीअनुसार सभामुख ओनसरी घर्तीले बिहीबार अपराह्नसम्मका लागि बैठक स्थगित गरेपछि संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न मधेसी नेताहरुको स्वदेश आगमन अनिवार्य भएको हो ।
कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको पूर्ववर्ती सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनका बुँदा समेटिएको प्रस्ताव वर्तमान सरकारले अगाडि बढाउन खोजेको हो ।
संशोधन प्रस्तावमा समावेशी र समानुपातिक सहभागिता सुनिश्चित गराउने र अहिलेका ७५ जिल्ल कायम रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नेजस्ता विषय समेटिएको छ ।






