बेलायतमा तनहूँका डा.कैनीले पाए लेबर पार्टीको टिकट,चुनाबी मैदानमा उत्रिएका को हुन् उनि ?

डार्टफोर्ड काउन्सिलका पूर्व काउन्सिलर तथा लेबर पार्टीको तर्फबाट सन् २०१७ को संसदीय निर्वाचनमा डार्टफोर्ड निर्वाचन क्षेत्रको उम्मेदवार डा. बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिलको निर्वाचनमा डार्टफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएका छन्। सन् २०१३ देखि लेबर पार्टीमा सक्रिय डा कैनी हाल लेबर पार्टी डार्टफोर्ड जिल्ला समितिको कार्यकारी सदस्य र पार्टीको बिएएमई (अश्वेत र अल्पसंख्यक जातीय समुदाय) इन्चार्ज को रुपमा कार्यरत छन।  तनहूँमा जन्मेका डा.  कैनी  र उहाँको परिवार पंचायत कालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय थियो ।  

यो अवसर सँगै डा.  कैनी बेलायतको दुई स्थानीय तह जिल्ला र काउन्टी तथा संसदीय गरी तिनै स्तरको निर्वाचनमा नेपाली समुदायबाट बेलायतमा उम्मेदवार हुने पहिलो व्यक्त्ति बन्नु भएकोछ।  सन २०१७  को संसदीय निर्वाचनमा पराजित भएता पनि डा कैनीले सम्मानजनक १८,०२४ मत प्राप्त गर्नु भएको थियो।

बेलायतमा हरेक बर्ष मे महिनाको पहिलो बिहिबार स्थानीय निर्वाचन हुन्छ।  देशभरीका स्थानीय निकायहरु मध्ये हरेक बर्ष केही निकायको निर्वाचन हुन्छ।  बेलायतमा निर्वाचित स्थानीय जनप्रतिनिधिको पदावधि चार बर्षको हुन्छ ।  यो बर्ष सन् २०२५ को मे १ मा १४ काउन्टी काउन्सिलहरू, ८ एकात्मक प्राधिकरणहरू र १ महानगर वा मेट्रोपोलिटन बरो काउन्सिलको निर्वाचन हुँदैछ । निर्वाचका लागि उम्मेद्वारी दाखिला गर्ने मिति २०२५ अप्रिल २ को  चार बजेसम्म रहेको कुरा डा. कैनीले बताउनु भयो।  

स्मरणीय छ,  बेलायतको काउन्टी काउन्सिल स्थानीय निकायको सबै भन्दा माथिल्लो तह हो।  करीव सोह्र लाख दश हजार जनसंख्या भएको केन्ट काउन्टी काउन्सिलमा डार्टफोर्ड सहित बाह्र जिल्ला छन्। बहत्तर डिभिजन रहेको केन्ट काउन्टी काउन्सिलमा डार्टफोर्ड काउन्सिल भित्र छ वटा डिभिजन छन्।  यी मध्ये डा. कैनी डार्टफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार चुनिएका छन्। डार्टफोर्ड वेस्ट डिभिजनमा करिव सत्र हजार मतदाता छन्।  

यो निर्वाचनमा डा कैनीको मुख्य एजेन्डा स्थानीय पूर्वाधार सुधार गर्ने, स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूलाई सुदृढ गर्ने, युवाहरूका लागि शिक्षा र अवसरहरू बढाउने, यातायात सेवाहरु सुदृढ गर्ने, सामाजिक न्यायको प्रवर्द्धन गर्ने, सबैका लागि अवसरहरू सुनिश्चित गर्ने, स्थानीय व्यवसायहरूलाई समर्थन गर्ने, डार्टफोर्डमा आर्थिक विकासलाई अगाडि बढाउने आदि रहेको कुरा डा. कैनीले बताउनु भएकोछ।  

स्वास्थ्य ब्यबस्थापन क्षेत्रमा नेपाल र बेलायत  गरी  ३३  बर्ष भन्दा बढी  काम गर्नु भएका डा. कैनी हाल बेलायतको एक विश्वबिद्यालयमा स्वास्थ्य ब्यबस्थापनको सिनियर लेक्चररको रुपमा कार्यरत हुनुहुन्छ। सन् २००५ देखि डार्टफोर्डमा बसोबास गर्दै आउनु भएका डा. कैनी अस्पताल ब्यबस्थापनको चार र नेपाली साहित्यमा छ गरी दश वटा पुस्तकको लेखक पनि हुनुहुन्छ।

डा. कैनीले मे १, २०२५  मा हुने निर्वाचनमा आफ्ना मतदातासँग मत माग्दै एक अपिल जारी गर्नु भएको छ।  साथै, बेलायत बस्ने सम्पूर्ण नेपाली समुदायसँग पनि उहाँले सक्रिय सहयोगको अपेक्षा गर्नु भएको छ।