जोकोभिचलाई केभिनको टक्कर

काठमाडौं, २२ आषाढ । शीर्ष वरियताका टेनिस खेलाडी नोभाक जोकोभिचलाई दक्षिण अफ्रिकाका केभिन एन्डर्सनले विम्बल्डन टेनिसमा कडा टक्कर दिएका छन् । इङ्ल्यान्डमा जारी वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको चौथो चरणको खेलमा जोकोभिच र एन्डर्सन भिडेका हुन् । चौथो सेटपछि खराब प्रकाशका कारण खेल रोकिनुपुर्व दुबै खेलाडीले २-२ सेट जितेका छन् ।
पहिलो र दोस्रो सेट लगातार टाई ब्रेकरमा गुमाएका जोकोभिचले यसपछिका दुई सेट जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन् ।
यी दुई खेलाडीबीचको पाँचौ तथा निर्णायक सेट मंगलबार हुनेछ । विम्बल्डन टेनिसको चौथो चरणको अर्को खेलमा क्रोएसियाका ईभो कार्लोभिचलाई हराउँदै ब्रिटेनका एण्डी मरे क्वाटरफाइनलमा पुगेका छन् । ६ फिट ११ ईन्च अग्ला खेलाडी कार्लोभिच विरुद्धको खेल मरेले ७-६, ६-४, ५-७ र ६-४ ले जिते ।
यसैगरी स्पेनका बाउटिस्टा अगुटलाई सोझो सेटमा हराउँदै स्विस खेलाडी रोजर फेडेरर पनि क्वाटरफाइनलमा पुगेका छन् ।
पुरुष एकलतर्फका अन्य खेलहरुम विजयी हुँदै स्विट्जरल्याण्डका स्टानिस्लास वावरीङ्का, फ्रान्सका जायल्स सिमोन र रिचार्ड ग्यास्के तथा क्रोएसियाका मारिन सिलिच पनि अन्तिम आठमा पुगेका छन् । उता महिला एकलतर्फ आफ्नै दिदी भेनस विलियम्सलाई ६-४ र ६-३ को सोझो सेटमा हराउँदै अमेरिकाकी सेरेना विलियम्स क्वाटरफाइनलमा पुगेकी छन् । महिला एकलतर्फका अन्य खेलहरुमा विजयी हुँदै मारीया सारापोभा, भिक्टोरीया अजारेन्का र आग्नेष्का राड्वान्सका पनि क्वाटरफाइनलमा पुगेका छन् ।