लन्डन आइपुगिन नेपालकै पहिलो रामकथा वाचिका चन्द्रकला सखी

लन्डन । रामचरित्र मानस कथावाचन गर्ने नेपालकै पहिलो महिला  कथावाचिका चन्द्रकला सखी लन्डन आइपुगेकी छन् । हालै पशुपतिनाथमा सम्पन्न कोटिहममा कथावाचन गरेकी उनी सोमबार दिउँसो लन्डन उत्रिएकी छन् ।

यसअघि केही समयदेखि अध्ययनका लागि बेलायतमै रहेकी उनी यसपटक भने आगामी नवदुर्गा अवधिमा रामकथावाचन गर्ने उद्धेश्यसहित लन्डन आएकी हुन् ।

लन्डन हिथ्रो विमानस्थल उत्रिएकी सखीलाई सिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका अध्यक्ष गोविन्द घिमिरे, सचिव उदय लम्साल, गायक दीपक थापालगायतले स्वागत गरेका थिए।

प्रतिष्ठानकी सल्लाहकार सुनिता गौतम थापाका अनुसार आगामी नवदुर्गा अवधिभर कथावाचिका सखीले लन्डनमा रामकथा वाचन गर्ने तयारी छ ।

प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रममा नवदुर्गाभर हरेक दिन रामकथावाचनका साथै ध्यान, योगा आदि पनि सञ्चालन हुनेछन् । कार्यक्रमबारे विस्तृत जानकारी चांडै सार्वजनिक गर्ने जनाएको प्रतिष्ठानले सहभागी हुन चाहनेहरुलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

नेपालीबाहेक अंग्रेजी र हिन्दी समेतमा कथावाचन गर्न सक्ने उनले बेलायतस्थित नेपाली समुदायको नयाँ पुस्तालाई समेत आकर्षित गर्न सक्ने अपेक्षा राखिएको छ ।

‘हालै मात्र नेपालको पशुपतिनाथमा आयोजित कोटिहोममा नव दिवसीय श्री रामकथाको आकर्षक वाचन गरी अपार सफलता हासिल गरिसक्नुभएको सन्दर्भमा अब बेलायतमा पनि उहांले आफ्नो धर्म–संस्कृतिको लगातार जागरण गरिरहनु हुनेछ । यसको तत्काल सुरुवात गर्न संघारमै आइसकेको नवरात्रको पावन अवसरमा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमीले सखीज्यूकै वाचनमा श्रीरामकथाको भव्य कार्यक्रम आयोजना गर्ने भएको छ’, प्रतिष्ठानका सचिव उदय लम्सालले भने, ‘इच्छुक सबै महानुभावहरुलाई हामी अहिलेदेखि नै कथा सुन्न निमन्त्रणा गर्दछौं। यसको विस्तृत जानकारी केहिपछि हामी सार्वजनिक गर्नेछौं।’