बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर बने नयाँ प्रधानमन्त्री

लण्डन । बेलायतमा बिहीवार भएको संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो विजय हात पारेसँगै सर किअर स्टार्मर नयाँ प्रधानमन्त्री बनेका छन्।

विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको बेलायतमा यो पटक लेबर पार्टीले ६५० मध्ये ४१२ सीट जितेको हो। यूकेको संसद्‌मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ।

यसपटक लज्जास्पद हार बेहोरेको सत्तारुढ कन्जरभेटिभ नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार बकिङ्घम प्यालेसमा राजा चार्ल्ससमक्ष आफ्नो राजिनामा बुझाएपछि राजाले स्टार्मरलाई प्रधानमन्त्री नियुक्त गर्दै अर्को सरकार बनाउन आमन्त्रित गरेका थिए ।प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टार्मरले टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गरे ।

सत्तारुढ कन्जरभेटिभ (टोरी) ले पार्टी इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ जसले १२१ सिटमात्र जित्यो । टोरीले ५ बर्ष अघिको तुलनामा २५१ सिट गुमाएको छ । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभले ३६५ सिट ल्याएको थियो ।

लिबरल डेमोक्य्राटले ७१ सिट जितेको छ । उक्त पार्टीले अघिल्लो निर्वाचनभन्दा ६३ सिट बढाएको हो । उता स्कटिश नेशनल पार्टी (एसएनपी) ले ९ सिटमा मात्र चित्त बुझाउनु परेको छ । अघिल्लो चुनावभन्दा यसपटक एसएनपीले ३८ सिट गुमाएको छ ।

सिन फेनले ७, इन्डिपेन्डेन्ट ६, डेमोक्य्राटिक यूनिअनिस्ट पार्टी ५, रिफर्म यूके ५ सिट, प्लेड क्यामरु ४, ग्रीन्स ४, सोसल डेमोक्रेटिक एण्ड लेबर पार्टीले २, अलाइन्स पार्टी १, अल्सटर युनिअनिष्ट पार्टी एक र ट्रेडिसनल युनिअनिष्ट भ्वाइसले एक सिट जिते ।

आफ्नो पार्टीले प्रचन्ड वहुमत प्राप्त गरेपछि स्टारमरले समर्थकहरूको भीडलाई भनेका थिए- “हामीले शुरु गर्‍यौं, तपाईंले यसका लागि प्रचार गर्नुभयो, तपाईं यसका लागि लड्नुभयो, तपाईंले यसलाई भोट गर्नुभयो र अब यहाँ आइपुग्यो, अब परिवर्तन सुरु हुन्छ।”

नयां बेलायती प्रधानमन्त्री स्टार्मर को हुन् ?

दक्षिणी इङ्गल्याण्डको एउटा सानो शहरका वासिन्दा स्टार्मर पूर्व अभियोजक र मानवअधिकार वकिल हुन् । स्टारमर सन् २००८ मा ‘पब्लिक प्रोसिक्यूशन्स’ का निर्देशक तथा ‘क्राउन प्रोसिक्यूशन सर्भिस’का प्रमुख नियुक्त भएका थिए।

६१ वर्षीय स्टार्मर राजनीतिमा लागेको केवल नौ वर्षमात्र भएको छ । उनी सन् २०२० अप्रिलमा लेबर नेता बनेका थिए ।

उनी पहिलोपटक २०१५ मा ५२ वर्षको उमेरमा सांसद निर्वाचित भएका थिए । उनी हल्बोर्न एण्ड सेन्ट प्यानक्रियाज निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् जहाँ उनी आफ्नो परिवारसँग धेरै वर्ष बसे ।

स्टार्मरका बुबा एक मौन अधिनायकवादी उपकरण निर्माता (टुल मेकर) थिए । अखवारहरुका अनुसार स्टामरले आफ्नो बुबाको व्यापारबारे सुनाउंदा राजनीतिक वर्ग र कहिलेकाहीं मतदाताहरूले खिल्ली उडाउने गरेको सार्वजनिक रुपमै बताउने गरेका छन्।

उनकी आमा नेशनल हेल्थ सर्भिस (एनएचएस) की एक नर्स थिइन् । आमा जीन्दगीभर जसो बिरामी हुंदा स्टार्मरले नै रेखदेख गर्थे । बाबु आमाले उनको नाम लेबर पार्टीका पहिलो नेता केयर हार्डीको नामबाट राखेका थिए ।