काठमाडौँ, १८ असोज । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले आफ्नो कार्यकालमा अदालतलाई बिचौलियाबाट बचाउने कामलाई पहिलो प्राथमिकता दिएको बताउनुभएको छ । मेलमिलाप परिषद्ले आज आयोजना गरेको ‘मेलमिलापकर्ताहरुको प्रथम राष्ट्रिय सम्मेलन–२०७२’ को उद्घाटन गर्दै उहाँले आफू प्रधानन्यायाधीश हुनुभन्दा पहिले गरेको प्रतिबद्धता पूरा गर्न अदालतका केही बिचौलियालाई बाहिर पठाइदिएको र केहीलाई कारबाही गरेको बताउनुभयो ।
प्रधानन्यायाधीश साहले भन्नुभयो, “यही असार २३ गते म जान लाग्दा केही बिचौलिया सक्रिय भएका छन्, पत्रकारलाई भूmटो समाचार दिएर मेरो चरित्र हत्या गर्ने काम गरेका छन्, यसले समग्र न्यायालयलाई असर पार्छ ।” सूचना प्रविधिको सामान किन्दा करोडौँको भ्रष्टाचार गरेको भनेर आएको समाचार गलत भएको उहाँले बताउनुभयो । उहाँले आफूले अदालतलाई सूचनाको प्रविधिको युगमा लैजाने काम गरेको पनि जिकिर गर्नुभयो ।
“नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतसँग सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने हो तर प्रतिद्वन्द्वीका रुपमा आइरहेको छ” प्रधानन्यायाधीशले थप्नुभयो, “ अदालतको ढोका जति सानो हुन्छ, त्यति टाउको ठोकिन्छ, अदालतका बारेमा टीकाटिप्पणी गर्दा बारले सोच्नुपर्छ ।” अर्का एक प्रसङ्गमा प्रधानन्यायाधीशले भन्नुभयो, “एक÷दुई जना व्यक्तिका कारणले न्यायाधीश नियुक्ति भएन, न्यायाधीश स्वतन्त्र व्यक्ति हुनुपर्छ भन्ने मेरो अडान कायम रह्यो ।”
सर्वाच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालले न्यायालयका बारेमा झूटो समाचार लेख्दा पत्रिकाप्रति विश्वास घट्ने तर सबैको ठूलो नोक्सान हुने टिप्पणी गर्नुभयो । न्यायाधीश सुशीला कार्कीले मेलमिलाप नीति आत्मसात् गरिनु र विवादको समाधान आपसी मेलमिलापबाट गरिनु राम्रो परिपाटी भएको बताउनुभयो ।
बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले मेलमिलापमा जानु सबैभन्दा राम्रो छिटो छरितो न्यायको प्रक्रिया भएको विचार व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने सो सम्मेलनमा देशभरबाट २०० सहभागी छन् । मेलामिलाप परिपाटीबाट वार्षिक २२ प्रतिशत मुद्दामा मेलमिलाप हुने गरेको बताइएको छ ।
बिचौलिया सक्रिय भए : प्रधानन्यायाधीश






