काभ्रे, १८ आषाढ । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने बीपी राजमार्ग जापान सरकारले शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । काभ्रेको बनेपादेखि महोत्तरीको बर्दिबास जोड्ने १६० किलोमिटर सडक जापानले निर्माण गरेको हो । २०५३ सालमा निर्माण थालिएको उक्त सडक शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र जाइकाका प्रमुख तुतोमु सिमिजुले संयुक्तरुपमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
चार खन्डमा विभाजन गरी निर्माण गरिएको बीपी राजमार्ग निर्माणमा २२ अर्ब रुपैयाँ खर्च भएको छ । बर्दिबास–सिन्धुलीखन्ड, सिन्धुली बजार–खुर्काटखन्ड र धुलिखेल–नेपालथोकखन्ड यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक निर्माणको अन्तिमखन्ड नेपालथोक–खुर्काटखन्डको ३७ किलोमिटर सडक शुक्रबार हस्तान्तरण गरिएको हो । यो सडकले महोत्तरी, धनुषा, सिन्धुली, रामेछाप र काभ्रे जिल्लालाई जोडेको छ ।
सडक निर्माणबाट सो क्षेत्रका गाउँ–गाउँमा आर्थिक विकासको सम्भावनासमेत उजागर गरेको छ । यस सडकमा नेपालमै पहिलोपटक ‘इमर्जेन्सी इन्फर्मेसन सिस्टम’ जडान गरिएको र यो प्रविधिबाट इन्टरनेट जडित कम्प्युटर वा मोबाइलमार्फत् सडकबारे जानकारी लिन सकिने छ । यस राजमार्गमा दैनिक एक हजारभन्दा बढी सवारी चल्ने गरी ५१ ओटा यातायात समितिहरु दर्ता भएका छन् । बीपी राजमार्ग पूरा भएसँगै देशको पूर्वी भेगतर्पm जाने यातायातका साधनहरुका लागि पृथ्वी राजमार्गको विकल्प खुलेको छ ।
बीपी राजमार्ग नेपाललाई हस्तान्तरण






