बेलायतको गोर्खा कपमा ओइरिए हजारौं नेपाली,ब्रिगेड ब्वाइज वन्यो विजेता अरु के के भयो ?

लण्डन । बेलायतमा नेपालीको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को उपाधि ब्रिगेड ब्वाइज क्लवले जितेको छ ।

अल्डरसटस्थित क्वीन्स एभेन्यूमा आइतबार भएको फाइनल खेलमा वाटरमेलन फुटबल क्लव (एफसी) लाई १–० ले हराउँदै ब्रिगेड व्वाइज क्लवले मुख्य विधाको उपाधि जितेको हो ।

ब्रिगेड व्वाइज क्लवले ३ हजार पाउण्डसहित शिल्ड र ट्रफी पुरस्कार प्राप्त गरेको छ । उपविजेता टिम वाटरमेलन एफसीले १ हजार ८०० पाउण्डको चेकसहित ट्रफी पायो ।

मुख्य विधामा राहुल लिम्बु सर्वाधिक गोलकर्ता भए भने कल हेच म्यान अफ द म्याच भए । उत्कृष्ट व्यवस्थापकको उपाधि वाटरमेलनका सन्देश गुरुङले पाए ।

उता ४० वर्ष माथिका खेलाडीहरुबीचको प्रतिष्पर्धा (भेट्रान) मा पनि ब्रिगेड व्वाइज क्लवले जीत हासिल गर्‍यो । ब्रिगेड व्वाइजले फाइनलमा धरान ११ लाई २–० ले हराएको थियो ।

जीतसँगै ब्रिगेड व्वाइजले १ हजार ५०० पाउण्डको चेक र ट्रफी हात पार्‍यो । उपविजेता धरान ११ ले १ हजार पाउण्डको चेक र ट्रफी पायो ।

भेट्रानतर्फ सर्वाधिक गोलकर्ता धरान ११ का दुर्गा लिम्बु भए भने उत्कृष्ट खेलाडी ब्रिगेड ब्वाइजका जगत गुरुङ भए । उत्कृष्ट व्यवस्थापकको उपाधि ब्रिगेड ब्वाइजका खोम गुरुङ भए ।

प्रतियोगितामा महिला फुटबलतर्फ गतवर्षकै विजेता रनडरबोल्ट एफसीले म खेल्छु एफसीलाई १–० ले हराउँदै यसवर्ष पनि उपाधि जित्यो । उसले ६०० पाउण्डको चेकसहित ट्रफी पायो । उपविजेता बनेको म खेल्छु एफसीले ४०० पाउण्डको चेक र ट्रफी पायो । वेष्ट प्लेयर म खेल्छु टीमकी एम्मा म्यारी मच भइन् ।

विजेता, उपविजेता, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट व्यवस्थापकलाई प्रमुख अतिथि रसमोर काउन्सिलका मेयर मारा माकुनुरा, विशेष अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतका रक्षा राज्यमन्त्री लियो डोकोर्टी, ब्रिगेड अफ गोर्खाजका कर्णेल, अल्डरसटस्थित क्यूओजीएलआरका गोर्खा मेजर, तमुधिँ यूके अध्यक्ष हरि गुरुङ र पुरस्कार प्रायोजकहरुले चेक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

तमुधिँ यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रसमोर काउन्सिल मेयर, दूतावासकी उपनियोग प्रमुख खनाल र बेलायती रक्षा राज्यमन्त्री डोकोर्टीले मन्तब्य दिएका थिए ।

महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा खेलकुद सचिव क्याप्टेन दीपकराज घलेले तमुधिँ गोर्खा कपमार्फत गरिरहेको परोपकारी कार्यबारे जानकारी दिएका थिए ।

सो अवसरमा रसमोरका मेयर र गोर्खा वेलफेयर ट्रष्टलाई तमुधिँका तर्फबाट ५५५ पाउण्डको अलग अलग चेक पनि हस्तान्तरण गरिएको थियो ।

खेलको चलिरहँदा नेपालबाट आएका कलाकारहरु र सयपत्री साँस्कृतिक समूहले देशभक्तिका गीत र नृत्य प्रस्तुत गरेका थिए ।

तमुधिँ यूकेले विगत २२ वर्षदेखि बेलायतमा गोर्खा कप आयोजना गर्दै आएको छ ।

बेलायतका नेपालीमाझ भेटघाट, च्यारिटी र व्यापार प्रवर्धन गर्ने थलोका रुपमा प्रचलित गोर्खा कपमा करिब १४ देखि १५ हजार मानिस उपस्थित भएको आयोजकले दाबी गरेको छ ।