बेलायतको नटिङ्घममा पहिलो ऐतिहासिक भजन महोत्सव सम्पन्न गुरु चिन्तामणिनाथ योगीले दिए प्रवचन

केशब भण्डारी
लन्डन । साझा नेपाली समाज यूकेले विविध कार्यक्रम सहित भजन महोत्सव सम्पन्न गरेको छ । नटिघंम हिन्दु मन्दिरमा आयोजित कार्यक्रम बेलायतमै पहिलो ऐतिहासिक युके भजन महोत्सव सम्पन्न गरेको हो ।

महोत्सवमा बेलायतका विभिन्न ठाउँबाट आएका ८ ओटा टोलीले भाग लिएका थिए। महोत्सवमा संस्थाका अध्यक्ष दिपक सापकोटाको अध्यक्षत रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालबाट आएका संस्कृतिविद् गुरु डा. चिन्तामणि योगीले भने, “भजनले मन बनाउँछ, मनले परिवार बनाउँछ, परिवारले समाज बनाउँछ। हामीलाई यस्तो साझा नेपाली समाज चाहिएको छ जसले नेपालमा होस् वा बेलायतमा सबैलाई जोडछ। पैसा कमाउनु भयो तर रमाउन जान्नु भएन भने जीवन नर्क हुन्छ। घरमा कार आयो , तर संगसंगै अहंकार पनि आयो भने जीवन अन्धकार हुन्छ। त्यसैले जहाँ बसे पनि हामी नेपालीले आफ्नो पहिचान र संस्कार छोड्नु हुँदैन। “

महोत्सवमा डोली शर्माको नेतृत्वमा पशुपती कल्चरल ट्रष्ट स्कटलैन्डबाट, राम पन्थीको नेतृत्वमा नटिङगहम नेपाली टोली १ र २,प्रविण खरालको नेतृत्वमा शान्ति नेपाली समाजको भजन टोली,पुन्डरी अर्यालको नेतृत्वमा श्रृजनसिल नेपाली समाजको भजनटोली सहभागी भएका थिए। सहभागी टोलीहरुले खैजडी मजुरा बजाउँदै भजन कीर्तन गर्दै गर्दा नेपाली महिलाहरुले उत्साहका साथ नाचगान गरेका थिए। महोत्सवको सुरुमा कार्यक्रम संयोजक डा कृष्ण प्रसाद शर्माले भजन गाउँदै सबै सहभागीहरुलाई स्वागत गरेका थिए।कार्यक्रमको आयोजक, साझा नेपाली समाज, का अध्यक्ष दिपक सापकोटाले प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँ पुस्तालाई हिन्दु संस्कार र संस्कृति सिकाउने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको बताए। समाजका महासचिव सशांक शर्माले सबैलाई धन्यवाद दिए।कार्यक्रममा स्कटल्याण्डबाट आएको टोलीले मौलिक बाजा बजाउँ दै नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीलाई निशुल्क खाना खुवाइएको थियो भने निकै उत्साहका साथ सहभागीहरुले नाचगान तथा रमाईलो गरेका थिए ।