लन्डन । बेलायतमा तमुधिं यूकेको आयोजनामा हुने वर्षकै ठूलो खेल इभेन्ट गोर्खा कपको २० औं संस्करण आगामी ४ जुन शनिबार अल्डरसटको क्वीन्स् एभिन्यू मैदानमा हुने भएको छ ।
२० औै संस्करण गोर्खा कपको सम्पूर्ण तयारी बारे २९ मे आइतबार पत्रकार सम्मेलन गरि कार्यक्रमहरु सार्बजनिक गरिने भएको हो ।
तमुधिं युकेका मिडिया संयोजक एसके कुमार गुरुङले विशेष पर्वको रुपमा आयोजना हुने उक्त कार्यक्रमको मुल उद्धेश्य तथा तयारी बारे २९ मे आइतबार सबै सार्बजनिक गरिने लन्डन नेपाल न्युज लाइ बताए ।
तमु धिं युके अध्यक्ष हितकाजी गुरुङले सबैले साथ र सहयोग दिएर कार्यक्रम सफल बनाउन आग्रह गर्दै “ तमु धिंले आयोजन गर्ने भए पनि यो बेलायतमा रहेका सबै नेपालीहरुको साझा कार्यक्रम भएकोले एक जुट भएर सफल बनाउन म आह्वान गर्दछु ।”उनले भने,
गोर्खा कपको कार्यक्रम अन्तर्गत फुटबल खेल संगै नेपाली स्वादिष्ट परिकारहरुको स्टलहरु र विभिन्न जानकारी मुलक स्टलहरु, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, प्यारासुट जम्प, पञ्चे बाजा लगायत अन्य नेपाली परम्परागत बाजाहरु लगायतका कार्यक्रमहरु हुनेछन । प्रमुख आकर्षण कार्यक्रमस्थलमा दर्जनौंको संख्यामा राखिएका खाना, व्यवसाय तथा नेपाली सामग्री र स्टलहरु र आफ्ना साथीभाइ, इष्टमित्र भेट्न पाउँदा उत्साहित हुने दिन रहेको छ ।
तमुधिंका इभेन्ट संयोजक क्या देव घले र महा-सचिब परशु गुरुङले अन्य प्रतियोगिताको तयारीबारे जानकारी दिने छन ।
तमुधिं यूकेका सल्लाहकार डेबिड गुरुङले बेलायतमा नेपालीलाई एकै थलोमा जमघट र नेपाली कला संस्कृति संरक्षण गर्नु गोर्खा कपको मुख्य उद्देश्य रहेको भन्दै सहभागी बनेर गोर्खा कप हेर्न सबैमा अनुरोध गरे ।







