राजनीतिक गतिरोध तोड्न राप्रपाले अघि सार्‍यो ४ सूत्र

काठमाडौं– संविधान संशोधन प्रस्तावको विरोध गर्दै एमालेसहितका प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गरिरहेको बेला संसदको चौथो ठूलो शक्ति राप्रपाले गतिरोध अन्त्य गर्न चुनावी सरकार गठन गर्नुपर्नेसहितको ४ बुँदे प्रस्ताव अघि सारेको छ ।

मंगलबार बसेको संसदको कार्यव्यवस्था समिति बैठकमा राप्रपाले जारी गतिरोध अन्त्यका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने, समितिले सबैको मागबारे छलफल गरेर सहमति जुटाउने, संसदको गतिरोध अन्त्य गर्ने र चुनावी सरकारको घोषणा गर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरु सकारात्मक बनेका छन् ।
बैठकमा राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले दलहरुबीचको जुंगाको लडाईँ गरेर देशलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै गतिरोध अन्त्यको लागि ४ बुँदे सूत्र अघि सारेका थिए ।
‘ संघीय गणतान्त्रमक प्रणाली ल्याएर पनि जनतालाई सुख दिन सकिएन भने त्यसको अर्थ हुन्न, दलहरुकै कारण जनतामा फ्रस्टेसन छ’ बैठकमा गिरीले भने, ‘अब दलहरु एक जुट भएन जनताको समस्या समाधानमा केन्द्रीत हुनुपर्छ ।’

गिरीले गतिरोध अन्त्यका लागि राखेका सूत्र यस्ता छन्ः
–जारी संसदको गतिरोध अन्त्यका लागि दलहरु गम्भीरतापूर्वक लाग्नुपर्छ । त्यसका लागि एक उच्चस्तरीय संयन्त्रको गठन गर्ने ।
–संयन्त्रमा दलका शीर्ष नेताहरुको सहभागिता रहनुपर्ने र सोहि संयन्त्रमार्फत एक महिनाभित्र विवाद रहेका सम्पूर्ण विषयलाई छलफलबाट टुंगोमा पुर्याउने ।
–२०७४ माघ भित्र स्थानीय तहको चुनाव गरिसक्नु पर्ने हुन्छ । संशोधनसम्बन्धी विवाद जति लम्बियो उति चुनाव अनिश्चित बन्दै जाने भएकाले तत्काल संसदको अवरोध हटाइनुपर्छ ।
– स्थानीय चुनावको लागि चुनावी सरकारको घोषणा गरेर अघि बढ्नुपर्छ ।
बैठकमा गिरीले अदालतले संशोधनका विषयमा गरेको निर्णयलाई ध्यानमा राखेर दलहरु अघि बढ्नु पर्नेमा समेत जोड दिएका थिए । ‘संशोधनका सवालमा हाम्रो पार्टी राप्रपाको पनि विमती छ, तर अहिलेको सवाल भनेको राष्ट्रलाई कसरी निकास दिने भन्ने हो’, गिरीले भने, ‘यी सबै समस्याको समाधानको लागि मैले चुनावीसरकोको प्रस्तावसहितको ४ बुँदे सूत्र बैठकमा राखेको हुँ ।’
उनको ४ बुँदे सूत्रमा कांग्रेस सांसद रामचन्द्र पौडेल, एमाले सांसद सुवासचन्द्र नेम्वाङ र माओवादी सांसद गिरीराजमणि पोखरेलले सहि भएको भन्दै यसैको सेरोफेरोमा केन्द्रीत रहेर दलहरुबीच छलफल चलाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा सबैपक्षबाट सहमति जुटाउन केहि दिनको छलफल आवश्यक भएकाले संसद बैठक केहि पर सार्न आग्रह भएपछि सभामुख ओनसरी घर्ती आगामी पुस २४ गतेसम्मको लागि सदन स्थगित गरेकी छिन् ।
घर्तीले दलहरुले अबको बैठकमा अवरोध नगर्ने प्रतिबद्धता आएपछि बैठक स्थगित गरिएको बताएकी छिन् ।