पिटरवोरोमा नेपाली महिला पुरुषको ब्याडमिन्टन प्रतिस्पर्धा

केशब भण्डारी

लन्डन । पिटरवोरो नेपाली समाज युकेको आयोजनामा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

मार्च १७ आइतबार वेलायतमा बस्ने नेपाली बीच पिटरवोरोमा व्याडमिन्टन प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो ।

दम्पती/मिश्रित (Couple/Mixed) र पुरुष जोडी (Men’s Double) गरि दुई फरक समुहमा भएको उक्त प्रतिस्पर्धामा पिटरबरो, नटिङ्घम, लेस्टर, बर्मिङ्घम र लण्डनबाट दम्पती/मिश्रित तर्फ १० टोलिहरु र पुरुष जोडी तर्फ १४ टोलिहरु गरि कुल २४ टोलिले सहभागी भएर १० वटा सामाजिक संस्थाको प्रतिनिधित्व गरेका थियो।

चार समुहमा विभाजन गरि पहिलो चरणमा २१ अंकको एक खेल र दोश्रो चरण देखि अन्तिमसम्म १५ अंकका ३ खेल खेल्नेगरी ब्यवस्थापन गरिएको प्रतिस्पर्धा तोकिएको समयमा नै समाप्त गरिएको थियो। समय ब्यवस्थापनलाई चुस्त र प्रभावकारी गराउनका लागि दुबै (दम्पती/मिश्रित र पुरुष जोडी) समुहका स्थानीय टोलिहरु बिचको पहिलो चरणका केही खेलहरु १० मार्च २०२४ मा गराइएको थियो।

दम्पती/मिश्रित समुह तर्फको फाइनल प्रतिस्पर्धामा पिटरबरोका दल बहादुर थापा र लक्ष्मी थापाको दम्पतीले पिटरबरोकै मेघा पौडेल र रिया बिष्टको मिश्रित जोडिलाई पराजित गर्दै बिजेता बनेका थिए। त्यसैगरि बर्मिङ्घमका दाजू-बैनि बिनोद थापा र बिनिता थापाको मिश्रित टोलिलाई पछि पार्दै पिटरबरोका डा. राजु सापकोटा र बबिता सापकोटाको दम्पतीले तेस्रो स्थान सुरक्षीत गरेका थिए।

पुरुष जोडी तर्फ तेस्रो स्थानको लागि पिटरवोरो नेपाली समाजका दुई टोलिबिच भएको खेल निकै प्रतिस्पर्धात्मक भयो। डा. राजु सापकोटा र शंकर थापाको जोडिले डा. पुष्प दत्त उप्रेती र अर्जुन भण्डारीको जोडी विरुद्ध पहिलो खेलमा १५-०७ अग्रता लिए पनि उप्रेती र भण्डारीको जोडिले दोस्रो र तेस्रो खेलमा १५-०९ र १५-०९ को अन्तरले जितेर तेस्रो स्थान प्राप्त गरेका थिए। त्यसैगरी, फाइनलमा लण्डनका सुराजन कार्की र प्रतिक राईले पिटरबरोका दल बहादुर थापा र मनिराज जोल्मि विरुद्ध १५-०८ र १५-०९ को लागातर दुई जीतसंगै प्रथम स्थान प्राप्त गरेका थिए। उक्त खेलमा ई. घनश्याम पौडेल र प्रविन भट्टले मध्यस्थता (रेफ्री) गर्नुभएको थियो। बिजेता टोलिहरुलाई पिटबरो नेपाली समाजका अध्यक्ष श्री केशव खतिवडा, ट्रस्टी संयोजक महेश अधिकारी र गोर्खा नेप्लिज कम्युनिटि पिटरबरोका अध्यक्ष मनिराज जोल्मिले पदक, प्रमाणपत्र र नेपालको झण्डा अंकित ‘एअर फ्रेसनर’ प्रदान गर्नुभएको थियो।

आयोजकका अनुसार यो ब्याडमिन्टन प्रतिस्पर्धा मिड्ल्याण्ड्सको नेपाली समुदायबिच पहिलो प्रतिस्पर्धा भएकोले ब्यावसायिक रुपमा अब्बल खेल प्रदर्शनि भन्दा पनि सामुदायिक स्वास्थ सचेतना प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। सोही उद्देश्यलाई आत्मसात गर्दै गत अक्टोबर अन्तदेखि पिटरबरोमा हरेक आइतबार विभिन्न उमेरसमुहका २५-३० जना महिलापुरुषहरुको उपस्थितिमा ब्याडमिन्टन अभ्यास गरिदै आएको छ।

प्रतिस्पर्धाको समापनका अवसरमा पिटरवोरो भइरहेको अभ्यासमा राम्रो प्रगति गर्ने एक महिला र एक पुरुषलाई पनि सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेमा सुबर्णराज पाण्डे र राधा लुईँटेल भण्डारी हुनुहुन्छ।

कार्यक्रममा उपस्थित खेलाडी एवं दर्शकलाई नास्तापानीको ब्यवस्था गरिएको थियो। सो ब्यवस्थापनलाई स्थानीय नेपालीहरुले चिया, कफी, पानी, उसिनेको अण्डा, केरा, स्याउ, स्याण्डविच इत्यादि स्वैच्छिक रुपमा उपलब्ध गराएका थिए।

यस प्रतिस्पर्धाको सौजन्य पिटरबरो नेपाली समाजलाई ‘नेसनल लोट्टो’को समुदायिक कोषबाट प्राप्त धनराशि मार्फत गरिएको थियो। कार्यक्रमलाई समापन गर्दै पिटरवोरो नेपाली समाजका अध्यक्ष श्री केशव खतिवडा र ट्रष्टी संयोजक श्री महेश अधिकारिले पिटरवोरोमा पहिलोपटक ब्याडमिन्टन प्रतिस्पर्धा गरिएकोमा खुशी व्यक्त गर्नुभयो। नियमित भैरहने ब्याडमिन्टन अभ्यासले आफूहरु लगायी समाजका धेरैले लाभ लिएको उल्लेख गर्दै पिटरवोरो नेपाली समाजको तर्फबाट ब्याडमिन्टन खेललाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै प्रतिस्पर्धा आयोजना तथा ब्यवस्थापनमा खट्ने सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गर्नुभयो।